कृषिमन्त्री खनालले भने- कृषि बिना देशको विकास असंभव



सिन्धुली । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवना नरहेको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ मा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले जुनारको संरक्षण प्रवद्र्धन गरी त्यस्को विस्तारमा जोड दिन निर्देशन दिए । जुनारमा रोग तथा किरा लाग्ने संकमण देखिएको प्रति आफु चिन्तित र ससंकित भएको उनले बताए । कफीको जस्तै माग जुनारको पनि भएकाले अहिले यस्मा किराको नियन्त्रण गर्नैपर्ने उनको तर्क छ ।

सरकारले अहिले विकासको जग हाल्दै गएको र आगामी पाँच बर्षभित्र जनता र किसान विकास व्यापार तथा कृषि उत्पादनका समस्या अन्त्य गर्ने उद्घोष गरे ।

सरकारले राम्रा कार्यक्रम बनाउन सकेन भने विकास सम्भव नरहेको उनले बताए । कृषिमा आधुनिकीकरण र प्राविधिक रुपले कृषि विकास गर्नुपर्ने मन्त्री खनालको भनाइ छ । कृषिलाई सम्मानित र मर्यादित पेशाको रुपमा कृषिलाई बनाउनका लागि सरकार त्यस्ता कार्यक्रम बनाउनमा प्रतिवद्ध रहेको बताए ।

जुनारको व्यवसायिक उत्पादन र विस्तार गर्दै अन्य कृषि उपजको उत्पादनपनि जोड दिन किसानलाई आग्रह गरे । सिन्धुलीमा जुनार सँगै किबी लगाऔं । मन्त्रीले भने– समग्र सिन्धुलीलाई कृषिको एउटा नमुना जिल्ला बनाऔ । त्यस्का लागि सरकारले बजेटमा कुनै कमी हुन नदिने बताए ।

जुनार किसानले उठाएका समस्या समाधान गर्न आफु लागि परेको भन्दै यहाँबाट फर्केर काठमाडौँ गएपछि प्रधानमन्त्रीसँग सुपरजोनका लागि आवश्यक पर्ने बजेट थप गर्ने आश्वासन दिए ।

यता, प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्र्तगत सिन्धुलीमा जुनार कृषक तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीको गोलन्जर गाउँपालिका ४ मा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजनाको मन्त्री खनालले उद्घाटन गरे ।

सोही अवसरमा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले सुपरजोनका लागि आएकोे बजेट अभाव नभएकाले त्यस्को सदुपयोग हुन्छ कि हँुदैन भन्ने कुरा महत्वपूर्ण हुने बताए । विनियोजन भएको बजेटको सदुपयोग नभए कुनैपनि परियोजनाको लक्ष्य पूरा नहुने उनको तर्क ।

बजेट आउँछ, कुनै कमी हुँदैन । त्यस्को सदुपयोग मात्रै हुनुपर्यो । किरा नियन्त्रण नभएसम्म जुनार परियोजनाले यहाँका किसानले लिने लाभ लिन नसक्ने उनको तर्क छ ।

कार्यक्रममा जुनार सुपरजोन परियोजनाका उपसंयोजक लोकबहादुर आलेले किसानको दुख बुझ्ने सरकार आएकाले आम किसानको अपेक्षा बढेको बताए । त्यस्तै सुपरजोन परियोजनाका प्रमुख ललनसिंह परियोजनाको आय व्यय प्रस्तुत गरेका थिए । उनले ४ हजार हेक्टर क्षेत्रफलमा तीनकन्यामा १ हजार ६ सय किसान जुनार खेती उत्पादन गरिरहेको बताए ।

गत बर्ष ९८ प्रतिशत भौतिक प्रगति भएको बताए । उनले कर्मचारीको आपूर्ति ढिला भएकाले ७६ प्रतिशत मात्रै खर्च भएको बताए ।

जुनारमा देखिने रोग किरा लाग्ने संकमण नियन्त्रण गर्नका लागि क्षेत्रगत बरिष्ठ बाली अधिकृत देवराज अधिकारीले जुनारमा कसरी रोग नियन्त्रण गर्ने, के कारणले रोग लाग्छ, कसरी रोग संकमण भित्रिन्छ र क्षेत्रगत किरा नियन्त्रणका लागि गरिएका कामहरुका बारेमा बोलेका थिए ।

किसान आफैले रोग तथा किरा नियन्त्रणमा लाग्नुपर्ने उनले बताए । आफ्नो आम्दानी आउने स्रोत जुनारका लागि किसान आफैले प्रतिहेक्टरका लागि २० हजार लगानी गर्नुपर्ने बताए ।

४ सय हेक्टरमा गरिएको जुनारमा किरा नियन्त्रणका लागि ३ करोड लगानी गर्नुपर्ने भएकाले त्यस्का लागि किसानले आफै र सरकारले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सिन्धुलीका कामु प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जुनारको माग बढी रहेकाले उत्पादनमा जोड दिन आग्रह गरे । जुनारमा देखिएको किरा तथा रोग नियन्त्रण गरी उत्पादनको विस्तारमा जोड दिनुपर्ने बताए ।

परियोजनाका निर्देशक लक्ष्मण पौडेलले परियोजना कति सफल भयो भन्ने कुरामा आफुहरुलाई अघि बढ्ने बताउँदै अन्तर्राष्टिय रुपमा जुनारको व्यवसायीकरण गर्न अगाडि बढ्ने बताए ।

प्रदेश सभा सदस्य लेखनाथ दाहालले जुनारको क्षेत्र विस्तार र किरा नियन्त्रणका लागि बजेट अभाव भएको बताए ।


क्लिकमान्डु