कारोबार राफसाफ पूर्जी विद्युतीयकरण हुँदै, प्रविधिमैत्री हुँदा लगानीकर्तालाई सुबिधा
काठमाडौं । दोस्रो बजारमा रहेका लगानीकर्ताहरुलाई प्रविधि मैत्री बनाउन कारोबार राफसाफ पूर्जीलाई विद्युतीय रुपमा जारी गरिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आगामी आइतबारबाट अनलाईन सफ्टवेयर मेरो सेयर पोर्टलमार्फत विद्युतीय निर्देशन पूर्जीको सुविधा दिने जनाएको छ ।
आगामी दिनमा लगानीकर्ताले धितोपत्र कारोबारको विवरण तथा राफसाफ कारोबार गरेको दुई दिनको समय भित्र जुनसुकै बेलापनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी सहजै जारी गर्न सक्नेछन् ।
सो प्रयोजनका लागि असोज २१ गतेको कारोबारपछि बिक्रेता लगानीकर्ताले मेरो सेयर पोर्टल मार्फत विद्युतीय पूर्जीको सुविधा लिन सक्ने छन् ।
यस्तै, सोही मितिबाट धितोपत्र कारोबार हुँदाको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्यलाई बुझाउनु पर्ने र सो शुल्क सम्बन्धित राफसाफ सदस्य मार्फत कारोबारको राफसाफ तथा फछर्यौट प्रणाली मार्फत नै संकलन गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, नेप्सेले शुरु गर्न लागेको अनलाइन ट्रेडिङ प्रणालीका लागि विद्युतीय निर्देशन पूर्जी हुनु जरुरी थियो ।
यसैबीच, विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज १९ गतेदेखी कात्तिक २ गतेसम्म हितग्राही खाता(डिम्याट) निःशुल्क खोल्न सकिने व्यवस्था रहेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुख चन्द्रसिंह साउदले भने नयाँ प्रविधिले लगानीर्तालाई फाइदा पुग्ने तथा बजारको स्तर वृद्धी गर्न मद्दत पुर्याउने बताए ।
यस्तै, सिसडएस एण्ड क्लीयरिङ्का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताल डिआईएसको झण्झट हट्नु लगानीकर्ताको हितको कुरा भएको बताए ।
सोही पत्रकार सम्मेलनमा इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले पछिल्ला एक दुई बर्षमा प्रविधि मैत्री बन्दै गईरहेको बताउँदै प्रविधिमैत्री कारोबारले पूँजीबजारलाई फड्को मार्ग सहयोग गर्ने बताए ।
कार्यक्रममा ब्रोकर संघका अध्यक्ष भरत रानाभाट र एनआइबीएलएसका महाप्रबन्धक मेघबहादुर थापालेपनि प्रविधिको विकासमा जोड दिएका थिए ।