कृषिमन्त्री खनाल भने- कृषिलाई प्राथमिकतामा राख्नु पर्छ



सिन्धुली । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् ।

मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

नेपालको सन्र्दभमा ६७ प्रतिशत किसान रहेको मुलुकमा कृषिमा नयाँ तवरले परिचालन नगरेसम्म लाखौँ सङ्ख्यामा विदेशिएका युवालाई फर्काउन र रोजगारको सिर्जना गर्न नसकिने बताउँदै अब सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्पलाई पूरा गर्न कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेपालमा कृषि, ऊर्जा र पर्यटनबाट रोजगार छिटो सिर्जना गर्न सकिने भएकाले आफू र आफू मातहतका निकाय यसतर्फ गम्भीर भएको उनको भनाइ छ ।

उनले भने, “सरकार विस्तारै परम्परागत खेती प्रणाली फेर्न, जमीनको व्यवस्थापन गर्ने, कृषिमा आधुनिकीकरण गरी व्यावसायिकरण गर्न सामूहिकरुपमा खेती प्रणालीको विकास गर्न र अनुदानलाई व्यवस्थित गर्न लागि परिरहेको छ ।”

उनले अर्गानिक उत्पादन गर्न सरकारले बीउबिजन, कृषि प्राविधिकलगायत समग्ररुपमा सहयोग गर्न पहिला अर्गानिक कृषिउपज उत्पादनलाई ६ नम्बर प्रदेशलाई छनोट गरेको र प्रदेश सरकारसँग सहकार्य भइरहेको बताए । रासस


क्लिकमान्डु