प्रदेश ३ का १० स्थानमा हिल स्टेशन बन्दै, कस्तो बन्छ हिल स्टेशन ?




काठमाण्डौ । ३ नम्बर प्रदेश सरकारले प्रदेशका १० स्थानलाई हिल स्टेशनको रुपमा विकास गर्ने भएको छ । उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले १० वटा हिल–स्टेसनको छनोट गरेको छ ।

३ नम्बर प्रदेश अन्तरगतका मुडे, जिरी, शिवालय, खुर्कोट(सिन्धुलीगढी), भीमफेदी, चित्लाङ, कुलेखानी, ककनी, रुबी भ्याली, सोमदह लगायत १० उच्च स्थानलाई हिल स्टेसनको रुपमा घोषणा गरिएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेशका १३ जिल्लालाई लक्षित गर्दै १० वटा हिल स्टेसन बनाउन लागिएको बताए ।

कस्तो बनाइन्छ हिल स्टेशन ?
हिल–स्टेसनमा एक भ्युटावर, एक होमस्टे, एक सामुदायिक लज, बगैँचा, मनोरञ्जन घर र कोसेली घर निर्माण गरिने मन्त्री नेपालले बताए ।

उनका अनुसार छनोट भएका हिल–स्टेसनको पूर्वाधारहरू निर्माण गर्न प्रदेश सरकारले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । प्रदेशको पर्यटन मन्त्रालयले आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय तहसँग समन्वय गरेर पर्यटकीय क्षेत्रको विकास गर्ने पर्यटन मन्त्री नेपालले बताए । प्रत्येक स्टेसनमा ३ करोड खर्च हुने अनुमान गरिएको छ ।

मुख्यमन्त्री पौडेलद्वारा शुभारम्भ
यसैबीच, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी, इन्द्रसरोबर र थाहा नगरपालिकामा बन्ने हिल स्टेशन कम्प्लेक्सको शुभारम्भ गरेका छन् । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना शुरु गरिसकेको बताए ।

पर्यटकलाई घुम्न आउने वातावरणको लागि सबैले आ–आफ्नो ठाउँको विकासमा सहयोग गर्न मुख्यमन्त्री पौडेलले आह्वान गरेका थिए ।

हिलस्टेशन कम्प्लेक्स शुभारम्भ कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाको सहभागिता रहेको थियो ।

त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आलेमगर, प्रमुख सचिव आनन्दराज ढकाल, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवसेर विष्ट, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ईन्द्र सरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत सहभागि थिए ।


क्लिकमान्डु