भाटभटेनीकोभन्दा १७ रुपैयाँ महंगोमा चिनी बेच्न सरकारले सुरु गर्यो ‘सुपथ मूल्य पसल’




काठमाडौं । सरकारले यस बर्षको दशैं, तिहार र छठको लागि भन्दै ‘सुपथ मूल्य पसल’ संचालन गरेको छ । यो सुपथ मूल्य पसलमा सरकारी लगानीका साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र खाद्य संस्थान जस्ता ब्यापारिक संस्था पनि संलग्न छन् ।

सरकारले प्रत्येक बर्ष दशैं अगाडिदेखि सुरु गर्ने सुपथ मूल्य पसलको लागि यी संस्थाहरुलाई अनुदान स्वरुप लाखौं रकम दिने पनि गरेको छ । तर, सरकारले राज्यकोषबाट अनुदान दिएर पर्व विशेषको लागि चलेका ‘सुपथ मूल्य पसल’मा नाफामुखी ब्यापारीहरुले चलाएका पसलको भन्दा महंगोमा सामान विक्री गरेका छन् ।

भाटभटेनी सुपरमार्केटले अहिले प्रतिकेजी ५९ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । तर, सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा चिनीको मूल्य प्रतिकेजी ७६ रुपैयाँ तोकिएको छ ।

सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले प्रतिकेजी ७६ रुपैयाँ चिनी बेच्न अनुमति पाएको छ ।

भाटभटेनीले आगामी छठसम्म प्रतिकेजी ५९ रुपैयाँमा नै चिनी बेच्ने प्रबन्ध संचालक मिनबहादुर गुरुङले जानकारी दिए ।

‘उपभोक्ताको माया र विश्वासले हामी यहाँसम्म आइपुगेका हौं, त्यसैले उपभोक्ताप्रति हाम्रो दायित्व पनि छ, आगामी छठसम्म हामी प्रतिकेजी ५९ रुपैयाँमा नै चिनी उपलब्ध गराउँछौं,’ प्रबन्ध संचालक गुरुङले क्लिकमाण्डूसँग भने ।

आफूले प्रतिकेजी ६४ रुपैयाँमा किनेको चिनी उपभोक्तालाई ५९ रुपैयाँमा नै उपलब्ध गराएको बताए । तर, भाटभटेनीमा एक जना ग्राहकले २ केजीभन्दा बढी चिनी किन्नुपर्यो भने प्रतिकेजी ६९ रुपैयाँ पर्छ । जुन सरकारले संचालन गरेको सुपथ मूल्य पसलभन्दा प्रतिकेजी ७ रुपैयाँ सस्तो हो ।

चिनी उत्पादकहरुले सरकारलाई प्रतिकेजी ६६ रुपैयाँमा नै चिनी उपलब्ध गराउने दाबी गरेका छन् । सरकारले चाहेमा आफूहरु प्रतिकेजी ६६ रुपैयाँका दरले जति पनि चिनी बेच्न तयार भएको चिनी उद्योगी शशिकान्त अग्रवालले बताए । अग्रवाल चिनी उद्योग संचालक संघका अध्यक्ष पनि हुन् ।

‘हामीले चिनी महंगो पारिदिएको भनेर आरोप लागिररहेको छ, हामी जसलाई जति चिनी चाहिए पनि प्रतिकेजी ६६ रुपैयाँका दरले उपलब्ध गराउन तयार छौं,’ उद्योगी अग्रवालले भने ।

ब्यापारी र उद्योगीले सस्तो चिनी विक्री र उपलब्ध गराउने बताइरहेको बेला निकै महंगोमा ‘सुपथ मूल्य पसल’ मा चिनी बेच्न लागेको साल्ट ट्रेडिङका अधिकारीहरु भने आफूहरुले महंगोमा किनेकोले महंगैमा बेच्नु परेको दाबी गर्छन् ।

‘हामीले भारतबाट ल्याएको चिनी हो, यसमा सल्फर मिसाइएको छैन, त्यसैले केही महंगो नै परेको छ,’ साल्ट ट्रेडिङका डिभिजनल म्यानेजर ब्रजेश कुमार झाले भने ।

उनले उद्योगीहरुले सस्तोमा चिनी उपलब्ध गराउछु भनेको विषयको पनि खण्डन गरे ।

‘हामीले स्वदेशी उत्पादकसँग चिनी किन्न टेण्डर गर्दा प्रतिकेजी ६६ रुपैयाँभन्दा बढीको प्रस्ताव गरेका थिए, अहिले सस्तोमा दिन्छु भने पनि त्यो बेलाको ब्यवहार र अहिलेको भनाइ फरक पर्यो,’ झाले थपे ।

तर्क आआफ्नै भए पनि उपभोक्ताले करको रुपमा राज्यकोषमा बुझाएको रकम ‘सुपथ मूल्य पसल’को नाममा अनुदानमा गएको छ भने नाफामुखी ब्यापारीले संचालन गर्ने र कही कतैबाट अनुदान नपाएको ब्यापारिक संस्थाले भने सरकारी पसलकोभन्दा प्रतिकेजी १७ रुपैयाँ सस्तोमा चिनी विक्री गरिरहेको छ ।


क्लिकमान्डु