राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो ५० करोडभन्दा माथिको लगानीमा ‘हेजिङ’ सुविधा दिने कार्यविधि




काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदरमा हुने उत्तारचढाबका कारण लगानीकर्तालाई जोखिममा पर्न नदिने उदेश्यले बनाएको हेजिङ फण्ड सम्बन्धी कार्यविधिको मस्यौदा अर्थमन्त्रीलाई बुझाएको छ ।

विदेशी मुद्राको उत्तारचढाबका कारण नेपालमा बैदेशिक लगानी भित्रन नसकिरहेको भन्ने गुनासो आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले नै हेजिङ फण्डको ब्यवस्था गर्ने घोषणा गरेका थिए ।

मन्त्री खतिवडाले चालू आर्थिक वर्षको बजेटमा हेजिङ फण्ड नै स्थापना गरेर विदेशी मुद्राको मूल्यमा आउने उत्तारचढाबका कारण उत्पन्न हुने जोखिम कम गर्दै लगानीको वातावरण बनाउने व्यवस्था मिलाउने घोषणा गरेका थिए ।

सरकारले बजेटमा घोषणा गरेका कार्यक्रमको कार्यान्वयनमा के कस्तो प्रगति भइरहेको छ ? भनेर ब्रिफिङ गर्न अर्थमन्त्री खतिवडाले गत साता मन्त्रालय मातहतका सबै नियामक निकायलाई बोलाएका थिए ।

अर्थमन्त्रीलाई ब्रिफिङ गर्न राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल, डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठ उपस्थित थिए ।

त्यस्तै, राष्ट्र बैंककै अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा र प्रवक्तासमेत रहेका नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेल पनि सहभागी थिए ।

डेपुटी गभर्नर श्रेष्ठले हेजिङ सम्बन्धी प्रस्तुति गरेका थिए । प्रस्तुतिपछि मात्रै हेजिङ कार्यविधिको मस्यौदा अर्थमन्त्रीलाई बुझाइएको थियो ।

राष्ट्र बैंकले बुझाएको कार्यविधिको मस्यौदामा ५० करोड रुपैयाँभन्दा बढी अर्थात् ५० लाख अमेरिकी डलरभन्दा माथिको लगानीलाई हेजिङको सुविधा उपलब्ध गराउने उल्लेख छ ।

मस्यौदामा ५ वर्षसम्मका लागि हेजिङको सुविधा लिने लगानीकर्ताबाट राष्ट्र बैंकले साढे ३ प्रतिशत शुल्क लिने र त्यसभन्दा माथि जति वर्ष बढ्दै जान्छ प्रतिवर्ष ०.५ प्रतिशतका दरले शुल्क लिने उल्लेख छ ।

राष्ट्र बैंकले जति मूल्यमा डलर सटही गरेको छ, लगानीकर्ताले लगानी फिर्ता गर्दा त्यति नै मूल्यमा डलर सटही सुविधा प्रदान गर्न हेजिङ फण्ड स्थापना गर्न लागिएको हो । मस्यौदाले यही बिषयलाई सम्बोधन गरेको छ । यसको अर्थ के हो भने आजका मितिमा कुनै लगानीकर्ताले राष्ट्र बैंकबाट प्रतिडलर ११६ रुपैयाँका दरले सटही गरेको छ । र, हेजिङ अवधिभित्र लगानीकर्ताले लगानी फिर्ता माग्न आउँदा डरको भाउ १५० रुपैयाँ भएको भएपनि वा ९० रुपैयाँ भए पनि राष्ट्र बैंकले ११६ रुपैयाँकै दरले साटिदिन्छ ।

‘राष्ट्र बैंकले तयार पारेको हेजिङ सम्बन्धी कार्यविधि प्राप्त भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘अब अर्थमन्त्रालयले अध्ययन गरेर अन्तिम टुंगो लगाउँछ । मन्त्रालयबाट केही हेरफेर पनि हुन सक्छ ।’

राष्ट्र बैंकले तयार पारेको कार्यविधि प्राप्त भएपछि अर्थ मन्त्रालयले कति रकम बराबरको हेजिङ फण्ड बनाउने भनेर प्रष्ट पार्ने स्रोतको भनाइ छ ।

त्यसपछि अर्थमन्त्री खतिवडाले हेजिङ कार्यविधिको प्रस्ताब मन्त्रिपरिषदमा पेश गर्ने र मन्त्रिपरिषदले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।


क्लिकमान्डु