कालीगण्डकीमा र्याफ्टिङ शुरु, बढ्न थाले पर्यटक



पर्वत । नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि र्याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले शुरु गरिएको हो ।

सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका लागि पर्यटक आउने क्रम बढेको छ ।

उक्त नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको पोखरास्थित स्वीसा र्याफ्टिङ एण्ड टे«किङ टुरिजम कम्पनीका सञ्चालक देव रेग्मीको भनाइ छ । उनका अनुसार बुधबारदेखि ¥याफ्टिङ सञ्चालनमा ल्याइएको उक्त नदीमा जलयात्रा लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । जलयात्राका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको पनि आकर्षण बढ्दै गएको छ ।

उक्त नदीमा अहिले दैनिक दुई\तीन समूहमा पर्यटक आउने गरेका छन् । पोखरा हुँदै अन्नपूर्ण पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुङ्गाबाट शुरु हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अष्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिन, दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्दै आएका छन् ।

यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुश्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पथप्रदर्शक गाइड नविन केसी बताउँछन् ।


क्लिकमान्डु