दशैंलाई नयाँ नोटः राष्ट्र बैंकमै लाइन बस्नु पर्दैन, यी बैंकका २१ शाखाबाट पनि पाइन्छ




काठमाडौं । दशैंमा नयाँ नोट लिने चलन छ । नयाँ नोट लिन नेपाल राष्ट्र बैंकको थापाथली शाखामा लामो लाइन लाग्ने गरेको विगतको अनुभव छ ।

तर, यसपटक सर्बसाधारणलाई नयाँ नोट लिन सहज होस भनेर राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको छ । सो ब्यवस्था अनुसार काठमाडौं उपत्यकामा राष्ट्र बैंकको थापाथली बैंकिङ कार्यालय सहित अन्य बैंकका विभिन्न शाखाहरुबाट पनि नयाँ नोट साट्न सकिने भएको छ ।

नयाँ नोट साट्न सर्बसाधारणलाई सजिलो होस भनेर काठमाडौं उपत्यकाभित्र नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकका विभिन्न शाखाहरुबाट समेत नयाँ नोट वितरणको ब्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

कार्यकारी निर्देशक निरौलाका अनुसार नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखाबाट नयाँ नोट साट्न पाइनेछ ।

यस्तै राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबारप्लाजा, टेकू, नयाँ बानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट नयाँ नोट साट्न पाइने भएको हो ।

राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नयाँ नोट साट्न पाइनेछ ।

यी बैंकका शाखाहरुले असोज २१ गतेदेखि असोज २९ गतेसम्म सर्बसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिनेछन् ।

एक जना ब्यक्तिले ५,१०,२० र ५० रुपैयाँ दरका दुई दुई पाकेट र १०० रुपैयाँ दरका एक पाकेट गरी जम्मा २७ हजार रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने ब्यवस्था गरिएको कार्यकारी निर्देशक निरौलाले जानकारी दिए ।

उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको विराटनगर, जनकपूर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु तथा राष्ट्र बैंकको नोटकोष रहेका बाणिज्य बैंक शाखाहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक मार्फत नयाँ नोट सटही गरिने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।


क्लिकमान्डु