स्टक ब्रोक्रर र मर्चेन्ट बैंकरले कर्मचारीलाई कम तलब दिएपछि सुविधा बढाउन तात्यो धितोपत्र बोर्ड



काठमाडौं । सेयर ब्रोक्रर तथा मर्चेन्ट बैंकरको कार्यालयमा कार्यरत कर्मचारीले न्यूनतम तलब नपाएपछि धितोपत्र बोर्डले नियम अनुसार तलब सुविधा दिलाउनको लागि तानिएको छ ।

धितोपत्र बोर्डले मर्चेन्ट बैंकर, सेयर ब्रोक्रर कार्यालयमा कर्मचारी सेवाशर्त विनियमावली नरहेको, कानून सम्मतहिसावले न्यूनतम तलबभत्ता समेत प्रदान नगरेको, कर्मचारीहरुलाई कानून सम्मत रुपमा काममा नलगाएको साथै व्यवसायलाई आवश्यक न्यूनतम योग्यता समेत हासिल नगरेका कर्मचारीहरु रहेको भन्ने गुनासाहरु बोर्डमा प्राप्त भएको साथै बोर्डबाट गरिएको सुपरिवेक्षण तथा व्यवसायीहरुबाट प्राप्तविवरण समेत अध्ययनगर्दा उपर्युक्त अनुसारको केही कैफियत देखिएकोमा उक्त समस्याहरुको निराकरण गरी संस्थाको व्यवस्थापकीय क्षमता सुदृढ गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी वनाउन देहाय अनुसारको ४५ दिनभित्र बोर्डमा विवरण पेश गर्न भनेको छ ।

बोर्डले मर्चेन्ट बैंकर र स्टक ब्रोक्रर कार्यालयमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्वन्धी कानूनी व्यवस्थाको केन्द्रमा रही योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा सुविधालाई दृष्टिगत गरी प्रचलित कानूनले तोके बमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तिय क्षेत्रको औसत किसिमको सेवा सुविधाकर्मचारीहरुलाई उपलब्ध गराउन भनेको छ ।

यस्तै संस्थामा कर्मचारीको रुपमा कार्यरत सवैलाई अनिवार्य रुपमा निजहरुको जिम्मेवारी तथा सेवाशर्त खुल्ने गरी नियुक्ति÷करार गर्न र कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्वन्धमा कर्मचारी सेवाशर्त विनियमावलीतयार गरी लागू गर्न निर्देशन दिएको छ ।

यस्तै नेपाल सरकारको निर्णयानुसार मिति २०७५ आषाढ ३२ गतेको राजपत्रमा प्रकाशित सूचनामा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न वोर्डवाट अनुमतिपत्र/ दर्ता प्रमाणपत्र प्राप्तनिकायहरुलाई उक्त संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवम् वित्तीय सुविधा वैंक खाता मार्फत अनिवार्य भुक्तानी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ ।


क्लिकमान्डु