एडिबीको प्रक्षेपण : यो वर्ष आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने



काठमाडौं । एशियाली विकास बैंकले यो वर्ष साढे ५ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

एडिबीले नेपालको माइक्रोइकोनोमी अपडेट जारी गर्दै यो वर्ष ५.५ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । सरकारले निर्धारण गरेको लक्ष्यभन्दा एडिबीले साढे ३ प्रतिशत कम आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

‘पछिल्ला १० वर्षको औसत आर्थिक बृद्धिदर ४.३ प्रतिशतभन्दा यो वर्ष आर्थिक बृद्धिदर बढी हुने छ,गतवर्षको निर्वाचनपनि नेपाल राजनीतिक स्थाईत्व तिर गएको र समयमा भएको मनसुन र केही ठूला आयोजनाको काम सकिने हुँदा साढे ५ प्रतिशतको आर्थिकबृद्धिर हासिल हुने देखिन्छ,’एडिबीका अर्थशास्त्री शरद भण्डारीले भने ।
नयाँ संविधान अनुसार संघियता कार्यान्वयन नभएको तथा स्थानीय तहमा जाने अधिकारले कर लगायतका विषयमा अन्यौलता देखिएको एबिडीले जारी गरेको अपडेटमा उल्लेख छ ।

यो वर्ष कृषि क्षेत्रको ३.५ प्रतिशत हुने तथा उद्योगको बृद्धिदर ७.२ प्रतिशत तथा सेवा क्षेत्रको बृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण एडिबीले गरेको छ । यो वर्ष होलसेल रिटेल ट्रेडको विस्तार हुने तथा वित्तीय संस्था पर्यटनमा विस्तार हुने अनुमान गरिएको छ ।
यो वर्ष महंगी भने बढ्ने प्रक्षेपण एबिडीको छ ।

गतवर्ष ४.२ प्रतिशत रहेको मुद्रास्फितीदर यो वर्ष ६ प्रतिशत हुने देखिएको छ । कच्चा तेलको मूल्य तथा भारतको मूल्यबृद्धिदर र नयाँ संरचनामा हुने सरकारी खर्चले मूल्यबृद्धि बढाउने एडिबीले उल्लेख गरेको छ ।


क्लिकमान्डु