नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि




काठमाडौै । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ ।

गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि विशेष वातावरण तयार पार्ने लक्ष्यका साथ बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नेछन् भने चिनियाँ सरकारका तर्फबाट पनि ऊर्जा मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहनेछ । बैठकमा लागि चिनियाँ अधिकारी आज यहाँ आइपुग्नेछन् ।

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि यसअघि भएका प्रयास तथा नेपालका विभिन्न आयोजनामा चीन सरकारको तर्फबाट भइरहेको लगानी, आगामी दिनमा अपनाइने लगानीका उपाय तथा ढाँचाका बारेमा समेत ऊर्जा संयन्त्रको बैठकमा छलफल हुने कार्यक्रम छ । यही असोज ३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग र नेपालका लागि चिनियाँ राजदूत यू होङले गरेको शिष्टाचार भेटावार्तामा समेत ऊर्जाको क्षेत्रमा भई आएका सहकार्य र द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । रासस


क्लिकमान्डु