निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहका यस्ता छन् प्राथमिकता




काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व आएको छ । रवि सिंहको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले आजबाट औपचारिक कार्य प्रारम्भ गरेको छ ।

नव निर्वाचित अध्यक्ष सिंहले कार्य प्रारम्भ गर्न लागेको सन्दर्भमा क्लिकमाण्डूसँग भने– निर्माणका काम गुणस्तरहीन हुनुमा निर्माण व्यवसायीको मात्र भूमिका हुँदैन, यसमा प्राविधिक, निर्माणकर्ता सबैको मिलेमतो हुने गर्छ, निर्माण व्यवसायीलाई राम्रो नजरले हेरिदैन, यो अवस्थामा सुधार ल्याउने कोशिस रहनेछ ।

उनले भने–निर्माण व्यवसायीपनि देश निर्माणका महत्वपूर्ण पक्ष हुन् भन्ने मान्यतालाई स्थापित गराउने सवालमा मुख्य ध्यान केन्द्रित गर्नेछु ।

कुनैपनि निर्माणको काम ढिलो हुनुमा निर्माण व्यवसायी मात्र दोषी हुँदैनन् भन्दै उनले सरकारी पक्षको उत्तिकै दायित्व हुने बताए ।

संभाव्यता अध्ययन नै नगरी टेण्डर गर्ने गरिएको, टेण्डर परेपछि पनि राज्यले गर्नु पर्ने समन्वय राम्ररी नगरेको अनि काम ढिलो भयो भने निर्माण व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको उनको भनाइ छ ।

खरिद ऐन २०६३ का अनुसार निर्माण व्यवसाय क्षेत्रमा वर्गविहीनको अवस्था विद्यमान छ । यस्तो ब्यवस्थाले साना निर्माण व्यवसायी ठूला निर्माण व्यवसायीको चेपुवामा परेका उनले बताए । यो अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष सिंहले क्लिमाण्डूसंगको कुराकानीमा भने–निर्माण व्यवसाय ऐन २०५५ मा व्यवस्था भए अनुसार निर्माण व्यवसायीहरुलाई बर्गीकरण गरिनु पर्दछ ।

स्थानीयस्तरको काम स्थानीयस्तर कै निर्माण व्यवसायीले गर्न पाउनु पर्ने उनको भनाइ छ । यस्तै ५ करोड रुपैयाँसम्मका काममा जिल्ला स्तरका निर्माण व्यवसायीहरुबीच मात्र प्रतिष्पर्धा हुन पाउने कार्यविधि बनाउन पनि उनले माग गरे ।

‘आफ्नै स्तरका निर्माण व्यवसायीबीच मात्र प्रतिष्पर्धा गराउने हुनु पर्छ । अनि मात्र निर्माण व्यवसाय मर्यादित र व्यवस्थित हुन्छ,’ उनले भने ।

विगतमा मुलुकमा अस्थिरताका कारण निर्माण व्यवसायी संकटमा रहेपनि अब स्थिरता आएकाले अब दक्ष जनशक्तिलाई वर्षैभरी काम दिन सक्ने भएको अध्यक्ष सिंहको भनाइ छ । अब दक्ष जनशक्ति विदेशिनु नपर्ने पनि उनले बताए ।

देशमा निर्माणमैत्री बाताबरण बनाउन राज्यले पहल गर्नु पर्ने भन्दै उनले गुणस्तरीय काम गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण व्यवसायीले साथ दिने बताए ।

मुलुकी अपराध संहित ऐनले निर्माण व्यवसायीलाई पनि प्रत्यक्ष असर पार्ने उनले बताए ।

‘यो ऐन हचुवाको भरमा आएको छ, यसलाई संसोधन गर्नु पर्छ, सरोकारवाला निकायसँग छलफल गरिनु जरुरी हुन्छ,’ उनले भने ।

आफ्नो कार्यकालमा संस्थागत सुधारका साथै व्यवसायलाई मर्यादित बनाउन पहल गर्ने उनको प्रतिबद्धता छ ।


क्लिकमान्डु