कृषि मन्त्रालयका सचिव भन्छन्- अब सातै प्रदेशमा कृषि औजार बितरण कार्यालय खुल्छ



काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्रालयका सचिव युवकध्वज जीसीले औजार बितरण कार्यालय खोल्ने बताएका छन् । राष्ट्रिय कृषक समूह महासंघको ५ औँ सामाजिक लेखाजोखा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा उनले कृषिमा यान्त्रीककरण नभएको भन्दै सातै प्रदेशमा ‘कस्टम हायरिङ सेन्टर’ का रुपमा कृषि औजार वितरण गर्ने पहल भइरहेको बताए ।

‘एक–एक जनालाई ट्याक्टर दिएर कृषिमा लगानी गर्ने सरकारको सामथ्र्य छैन, कस्टम हायरिङ सेन्टर भनेको एउटै ठाउँमा काट्ने मेसिन, खन्ने मेसिन, जोत्ने मेसिन सबै राखिने छ,’ सचिव ध्वजले भने ।

कृषिलाई अघि बढाउन र यसमा युवाहरुको सहभागिता बढाउन यान्त्रीकिकरण आवश्यक रहेको र त्यसले सरकारले ५ वर्षमा कृषिमा आत्मनिर्भर हुने कुरालाई सहयोग गर्ने बताए ।

यस्तै व्यवसायीकरणको कुरामा पनि बिउ नै महंगो भएको र लागत बढी तथा उत्पादन कम हुने भएकाले अब बिउको उत्पादन बढाउनु पर्नेमा जोड दिए । यसका लागि कृषि केन्द्र मार्फत तालिमको व्यवस्था गरिने पनि उनले बताए ।

कार्यक्रममा महासंघले गत वर्ष २०७४\७५ सालको आर्थिक विवरण पेश गरिएको थियो ।

महासंघकी कोषाध्यक्ष रीता बस्ताकोटीले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । उनले गत वर्षको आय २ करोड ३४ लाख ६४ हजार ४ सय १९ रुपैयाँ भएको जानकारी दिइन् । यस्तै गतवर्ष १ करोड ७६ लाख रुपैयाँ बराबर खर्च भएको उनले बताइन् ।

यो वर्षको अनुमानित बजेट खर्च २ लाख रुपैयाँ रहेको महासंघका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिए । उनले कृषिमा सरकारले ५ वर्ष भित्र आत्मनिभर हुने भनेपनि त्यसमा धेरै चुनौति रहेको बताए ।


क्लिकमान्डु