मंगलबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, व्यवसायी भन्छन्- सवारी साधनको व्यवस्थापन हुन्छ



काठमाण्डौ । असोज ५ गतेदेखि दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुलाउने भनेपनि यातायात व्यवसायीहरुले अब असोज ९ गते मंगलबारबाट बुकिङ खोल्ने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आजको बैठकले मंगलबारदेखि बुकिङ खोल्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए ।

भदौ ३१ गते बसेको बैठकले सरकार र यातायात व्यवसायीका बीचमा ५ गते नै बुकिङ खोल्ने सहमति भएको थियो। तर, व्यवसायीले सो समयमा बुकिङ खोलेनन् । भाडा बृद्धि लगायतका माग राख्दै यातायात व्यवसायीले सो मितिमा बुकिङ खोलेनन् ।

टिकटको बुकिङ नखोलेपछि यातायात व्यवसायीका प्रतिनिधि र सरकारी टोलीबीचको बैठकमा १० प्रतिशत भाडा बढाउने निर्णय भएको थियो । भाडा १० प्रतिशत  बढाउन पाउने भएपछि  टिकट बुकिङ खुलाउन व्यवसायीहरु तयार भएका छन् ।

मंगलबार बिहान ९ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सिटौलाले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न आफूहरुले माग गरेको भएपनि सरकारले भाडा वृद्धि गरिदिएर आफूहरुलाई केही राहत प्रदान गरेको उनको भनाई छ । यात्रुको मागलाई ध्यानमा राखेर सवारी साधन व्यवस्थापन गरिने समेत उनले बताए ।

बुकिङ नखुल्दा यात्रुहरुमा तनाब
दशैँमा घर जाने तयारीमा रहेका यात्रुहरु अग्रिम टिकक बुकिङ नखुल्दा तनाबमा रहेका थिए । दैनिक  बसपार्क जाने र खाली हात फर्कन बाध्य भएका थिए । अब भोलिबाट भने यात्रुले अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

सरकार र यातायात व्यवसायीबीचको द्वन्द्व र असमझदारीका कारण सर्वसाधारण यात्रुवर्गले राजधानी उपत्यकाबाट घर गई चाडपर्व मनाउन अप्ठ्यारो हुने भय उत्पन्न भएको थियो ।


क्लिकमान्डु