भरतपुरमा १४ करोडको लगानीमा नयाँ तरकारी बजार खुल्यो, दैनिक २ करोडको कारोबार हुने



चितवन । १४ करोडको लागतमा चितवनको नारायणगढमा व्यापारीहरुले नयाँ तरकारी तथा फलफुल बजार निर्माण गरेका छन् । सो तरकारी बजारको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहका बीच आज उद्घाटन गरे ।

यसअघि नारायणगढको लायन्स चोकमा रहेको तरकारी बजार साँघुरो र अव्यवस्थित भएपछि व्यवसायीहरुले १४ करोड लगानीमा भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा नयाँ तरकारी बजारको स्थापना गरेका हुन् ।

क्षेत्रपुरमा रहेको नयाँ तरकारी बजार निर्माणका लागि ब्यापारीहले १०-१० लाख रुपैयाँ सेयर लिएको नयाँँ तरकारी बजारप्रालिका अध्यक्ष शालिकराम घिमिरेले जानकारी दिए ।

के के व्यवस्था छ तरकारी बजारमा ?
तरकारी बजारमा दुई वटा रेष्टुरेण्ट, शौचालय तथा खानेपानीको समेत व्यवस्था छ । किसानले आफ्नो उत्पादन बजारमा लगेर सिधै उपभोक्तालाई बिक्री गर्न पाउन भन्ने उद्देश्यले नयाँ तरकारी बजारसञ्चालनमा ल्याइएको हो ।

लायन्सचोकको तरकारी बजारमा १६४ वटा सटर रहेका थिए भने नयाँ बनेको तरकारी बजारमा २१७ वटा सटर छन् । व्यवसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ र किसानका लागि १४ वटा सटर रहने छन् ।

नयाँ बजारमा कति हुन्छ कारोबार ? 
२०५० सालदेखि सञ्चालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको थियो । नयाँ बजारमा दैनिक २ करोडको कारोबार हुने अपेक्षा व्यवसायीको छ ।

१६ जिल्लाबाट चितवनमा तरकारी आउने र ती तरकारी काठमाडौंसहित गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देही लगायतका जिल्लामा बिक्रीका लागि लैजाने गरिएको छ ।

देशका लागि त्याग गर्नु पर्छः प्रचण्ड
यता, सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान पुस्ताले देशका लागि त्याग गर्नु पर्नेमा जोड दिएका थिए । देश परिवर्तनका लागि पारदर्शी र मेहनती बन्नुपर्नेमा उनको जोड थियो ।अबको दशक विकासको दशक भएको भन्दै सबैको साझा संकल्पबाट नै देश समृद्ध बन्ने उनको जिकिर थियो ।

उनले भने- “देशलाई तीव्र रुपमा विकास गर्न निजी, सार्वजनिक र सहकारीलाई संविधानले तीनखम्बे अर्थनीतिका रुपमा परिकल्पना गरेको छ। ।

सरकारले कृषिमा ब्यवसायिकीकरण र आधुनिकिकरणको अवधारण प्रथामिकतामा राखेको भन्दै उनले कृषिका जोन र ब्लकहरुले कृषि बजारलाई सहयोग पुर्याउने दाबी गरे ।


क्लिकमान्डु