भाजपा नेता जोलीले भने–नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खतरा छ, छिटो मर्मत गर्नुहोस्



नयाँ दिल्ली । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) मा खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जोलीले  यसबारेमा चिन्ता व्यक्त गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाएका छन् । उनले अहिले नेपालको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थलको अवस्था नाजुक रहेको भन्दै पत्रमार्फत नेपालका प्रधानमन्त्री ओलीसँग चिन्ता व्यक्त गरेका छन् ।

नयाँ दिल्लीबाटै जोलीले नेपाल सरकारलाई यस्तो पत्र जारी गर्दै त्रिभुवन विमानस्थलको अवस्था खतरायुक्त भएकोले यसलाई यथाशक्य चाँडो पूनर्निमाण गर्न सल्लाह समेत दिएका छन् ।

हालै भएको युएस बंगला विमान दुर्घट्नाबाट ठूलो मानवीय क्षति भएको र टर्किश एयरलाईन्सको टिके—७२६ फ्लाईटपनि ठूलो दुर्घट्ना हुनबाट जोगिएको स्मरण गर्दै उनले नेपाल नागरिक उड्ययन प्राधिकरणको यसबारेमा ध्यान जानुपर्ने धारणा राखेका छन् ।

यसअघि जोलीसँग आज नेपालका पब्लिक सेक्टर ईनोभेटेर ई. दिपेन्द्र कँडेलले भेटेर नेपालको त्रिभुवन विमानस्थलको धावनमार्गमा खराबी रहेको दृष्टान्त सुनाएका थिए ।

गत अगष्ट ८ तारिखका दिन कँडेल सवार मस्कटबाट काठमाडौं उडेको डब्लुटी—३३७ विमान काठमाडौं अवतरणका क्रममा आकाशमै धेरै बेर होल्ड भएको स्मरण गर्दै कँडेलले नेता जोलीलाई सुनाएका थिए,“हामी सवार विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन ढिलाई भएको थियो ।

धेरै बेर चालकले विमानलाई आकाशमै होल्ड गरेका थिए । यसको मुख्य कारण चाहीँ विमानस्थलको धावनमार्गको मर्मतसम्भार थियो । तर, विमानस्थलका कर्मचारीले विमान चालकलाई मौसमको खराबी भनेर गलत सुचना प्रवाह गरेका थिए । यो अत्यन्तै दुःखद् कुरा हो ।”

जोलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,“ई. दिपेन्द्र कँडेलले यसअघि नै नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई गत अगष्ट १३ तारिखमा विमानस्थलको धावनमार्गको खराबीबारे ध्यानाकार्षण गराईसक्नुभएको छ ।

नेपाल सरकारलेपनि सार्वजनिक रुपमै त्रिभुवन विमानस्थलको धावनमार्गको मर्मत आगामी सन् २०१९ को फेब्रुअरीपछिमात्रै गर्ने घोषणा गरेको छ ।”

सन् २०१९ को फेब्रुअरीपछिमात्रै मर्मतसम्मार गर्दा धेरै ढिलो हुने भन्दै नेता जोलीले नेपाल सरकारको ध्यानाकार्षण गराएका छन् । उनले भनेका छन्,“यो अस्विकार्य छ ।

र, सबै अन्र्तराष्टिय एयरलाईन्सहरुको लागि खतरा छ । नेपाल सरकारले अब एक घण्टापनि विलम्ब नगरी यसको मर्मतसम्भार अथवा पूर्ननिर्माणमा लाग्नुपर्छ । होईन भने यसबाट हुने दुर्घटनाले धेरै ठूलो मानवीय क्षति हुने खतरा मैले देखेको छु।”

 


क्लिकमान्डु