नेपाल ट्रक यातायात व्यवसायी महासङ्घमा नयाँ नेतृत्व (नामावली सहित)



काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घमा राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

असोज ४ र ५ गते राजधानीमा सम्पन्न छैटौँ अधिवेशनले अघिल्लो कार्यकालका महासचिव रहेका श्रेष्ठलाई अध्यक्षमा र राजेन्द्र विक्रम बानियाँलाई महासचिवमा निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन, बीमा, ढुवानी व्यवस्थापन, भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भए पनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत् रहेको भन्दै आफू यसप्रति जिम्मेवार भएर लाग्ने बताए ।

नवनिर्वाचित महासचिव बानियाँले भने व्यवसायी, मजदुर र सरकारबीचको त्रिपक्षीय सम्बन्ध धुमिल भइरहेको सन्दर्भमा नयाँ नेतृत्वले यसप्रति गम्भीर भएर लाग्ने बताए । उनले यसअघि महासङ्घले गरेका कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ र प्रभावकारी कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाए ।

महाधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा लोकराज पोखरेल, उपाध्यक्षमा कृष्णहरि जिसी र उपेन्द्र देवकोटा चयन भएका छन् । उपमहासचिवमा दीपक पौडेल, सचिवमा जिवी खड्का, कोषाध्यक्षमा ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा मेघराज पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी प्रदेश १ देखि ७ सम्मको संयोजकमा क्रमशः विद्यापति उपाध्याय, राजन केसी, ताराबहादुर बराल, लीला बराल, यमप्रसाद पाण्डे, चेतनकुमार थानी र मेघराज भट्ट चुनिएका छन् ।


क्लिकमान्डु