प्रस्तावित बीमा ऐनः केही कर्मचारीको जागिरै जाने, एजेन्टलाई कस्न नयाँ प्राबधान




काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको प्रस्तावित बीमा ऐनका प्रावधानले बीमा कम्पनीमा कार्यरत केही उच्च पदस्थ सहितका कर्मचारीको जागिरै संकटमा पर्ने भएको छ ।

प्रस्तावित ऐनको दफा ५७ को उपदफा २ मा कम्पनीसँग वित्तीय स्वार्थ जोडिएको ब्यक्तिलाई कर्मचारी बनाउन नपाइने ब्यवस्था छ । यो ब्यवस्थाले धेरै बीमा कम्पनीका केही उच्चदेखि कनिष्टसम्मका कर्मचारीको जागिर जाने अबस्था सिर्जना भएको हो ।

यसअघि बीमा कम्पनीको प्रमोटर सेयर भएका ब्यक्तिहरु पनि बीमा कम्पनीको उच्च ब्यवस्थापन वा कर्मचारी हुन पाउने ब्यवस्था थियो । यही ब्यवस्थालाई टेकेर केही कम्पनीका उच्च तहका कर्मचारीहरु कम्पनीको प्रमोटर सेयरमा लगानी गरेर कर्मचारीको रुपमा कार्यरत छन् ।

‘पहिलाको ऐनले प्रमोटर सेयर हुने ब्यक्तिलाई कर्मचारी वा उच्च ब्यवस्थापनमा रहन रोकेको थिएन, अहिलेको ऐनले यस्तो ब्यवस्था गरेपछि जागिर र प्रमोटर सेयरमध्ये एउटा मात्रै रोज्नुपर्ने अबस्था आयो,’ एक बीमा कम्पनीका उच्च ब्यवस्थापनमा रहेका अधिकारीले भने ।

तर, बीमा कम्पनीको प्रमोटर सेयर बेच्न पनि उनीहरुलाई सजिलो भने छैन । बीमा कम्पनी संचालनमा आएको निश्चित अवधि पूरा भएपछि र सर्बसाधारणलाई सेयर विक्री गरिसकेपछि मात्रै प्रमोटर सेयर विक्री गर्न पाइने ब्यवस्था ऐनमै छ ।

प्रस्तावित ऐनले बीमा एजेन्टलाई पनि कसेको छ । यसअघि जति पनि कम्पनीको बीमा एजेन्ट भएर काम गर्न पाइने ब्यवस्था थियो । तर, प्रस्तावित ऐनमा एक जना एजेन्ट एउटा प्रकारको एउटा मात्रै कम्पनीको एजेन्ट हुन पाउने ब्यवस्था गरिएको छ ।

यसको अर्थ एउटा जीबन बीमा कम्पनीको एजेन्ट बनेको ब्यक्ति बढीमा अर्काे निर्जीबन बीमा कम्पनीको मात्रै एजेन्ट बन्न पाउँछ ।

‘बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीम अभिकर्ताको इजाजतपत्र दिइनेछ,’ प्रस्तावित ऐनको दफा ९३ को उपदफा ५ मा उल्लेख गरिएको छ ।

ऐनका केही प्रावधान अर्थमन्त्री डा. युवराज खतिवडा आफैले परिवर्तन गर्न लगाएका थिए । उनले यसरी ऐनमा चलखेल गरेपछि बीमा समिति लगायतका सरोकारवाला डा. खतिवडाले थपेको प्रावधान सच्याउनु पर्ने अनौपचारिक लबिङमै लागेका छन् । बीमा समितिका कर्मचारीहरु त नयाँ ऐनको ब्यवस्था विरुद्ध संगठित रुपमै लबिङमा छन् । यो ब्यवस्थाले बीमा कम्पनी र एजेन्टलाई समेत आन्दोलित बनाएको छ ।


क्लिकमान्डु