दशैमा अग्रिम टिकट बुकिङ नखुल्ने, अग्रिम लिएको पैसा राख्ने ठाउँ नै भएनः ब्यवसायी




काठमाडौं । दशैको लागि सार्बजनिक यातायातका अग्रिम टिकट बुकिङ नखुल्ने भएका छन् । सरकारले आफूहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला गर्न ब्यवसायी तयार नभएका हुन् ।

दशैको लागि अग्रिम टिकट बुकिङ खुलाउदा पैसा राख्ने ठाउँ नभएकोले अग्रिम बुकिङ खुलाउन समस्या भएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।

‘यसअघि अग्रिम टिकट बुकिङ खुलाउँदा समितिहरुको बैंक खातामा पैसा राख्ने गरिएको थियो, यसपटक सरकारले हाम्रो बैंक खाता रोक्का राखेको छ, अग्रिम टिकट बुकिङ खुलाउँदा पैसा कहाँ राख्ने भन्ने समस्या छ, हाम्रो खल्तीमा पैसा राखेर भएन, यस्तो प्राविधिक समस्या आएकोले अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निष्कर्षमा हामी पुगेका हौं,’ अध्यक्ष कर्माचार्यले क्लिकमाण्डूसँग भने ।

यसअघि यातायात ब्यवस्था विभाग र ब्यवसायीका प्रतिनिधिबीच असोज ५ गतेदेखि दशैको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो । सो सहमतिमा सरकारले समितिहरुको रोक्का रहेको बैंक खाता खुल्ला गरिदिने बताएपनि कार्यान्वयन नभएको ब्यवसायीको भनाइ छ ।

तर, सरकारले पहिला समिति मार्फत सार्बजनिक यातायात संचालन गरेकाहरु कम्पनीमा परिणत भएर आएपछि सो समितिको नाममा रहेको चल अचल सम्पत्ति परिणत भएको कम्पनीले भोग चलन गर्न दिने बताएको थियो । ब्यवसायी र सरकारबीच यस बिषयमा सहमति पनि भएको थियो ।

अग्रिम टिकट बुकिङ खुलाउँदा पैसा कहाँ राख्ने भन्ने समस्या छ, हाम्रो खल्तीमा पैसा राखेर भएन, यस्तो प्राविधिक समस्या आएकोले अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निष्कर्षमा हामी पुगेका हौं

तर, ब्यवसायीहरुले पछिल्लो समय अर्काे पनि माग अघि सारेका छन् । पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने ब्यवसायीको माग छ ।

ब्यवसायीको यो माग कित पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्नु वा भाडा बढाइदिनु भन्ने हो ।

‘यो महिनामा मात्रै २ पटक गरेर डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढिसक्यो, सरकारले अहिले बढेको इन्धनको मूल्य फिर्ता लिनको लागि हामीले २४ घण्टाको म्याद लिएका थियौं, तर आपूर्तिमन्त्रीले मूल्यबृद्धि फिर्ता नलिने बताउनु भएपछि हामी अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसक्ने अबस्थामा पुगेका हौं,’ अध्यक्ष कर्माचार्यले भने ।

उनले अग्रिम टिकट बुकिङ खुल्ला नभए पनि दशैको बेलामा यात्रुलाई समस्यामा पार्ने आफूहरुको कुनै योजना नरहेको दाबी गरे ।

‘दशैको बेलामा एकतर्फि मात्रै यात्रु पाइने भएकोले हामीलाई समस्या छ, तर पनि दशै तिहार, छठ जस्तो पवित्र र महत्वपूर्ण चाडपर्वमा हामी ब्यवधान सिर्जना गर्दैनौं, अहिले जसरी टिकट काटेर यात्रा गर्ने गरिएको छ, दशैको बेलामा पनि यसैगरी हुन्छ, यात्रु बढी भएभने गाडी थपेर सेवा दिन्छौं,’ उनले भने ।


क्लिकमान्डु