प्रधानमन्त्री ओली भन्छन्- कृषि क्षेत्रको विकास नगरी देश बन्दैन




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) निराशाजनक रहेको बताएका छन् । उनले नेपालको जिडिपी बढाउन कृषि क्षेत्रमा विकासको आवश्यक्ता रहेको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र र नेपाल कृषि प्रसार समितिको संयुक्त आयोजनामा सार्क क्षेत्रका कृषकहरुको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने-राष्ट्रको जिडिपी बढाउनका लागि कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।

हाम्रो देशको जिडिपी निराशाजनक रहेको छ, कृषिमा आधुनिकीकरण गर्न सके राष्ट्रको जिडिपीपनि बढाउन सकिन्छ । प्रधानमन्त्री ओलीले भने–त्यसका लागि कृषिलाई औद्योगिकरण गर्नु पर्छ ।

कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले सम्मेलनमा कृषि प्रसार सेवाका लागि नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलन, साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लािग कृषि प्रसार रणनीतिसम्बन्धी छलफल हुने जानकारी दिए ।

यस्तै कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जिसीले ५ वर्ष भित्र कृषकको कमाई दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तरगत पकेट, जोन सुपरजोन लगायतका विभिन्न कृषि आयोजनाहरु अघि सारेको बताए ।

उनले कृषि पेशालाई सम्मान दिन र यसमा अशिक्षित मानिसको जमात मात्र धेरै भएकाले यसमा शिक्षाको विकास गर्दै लैजान सकिने बताए ।

नेपालमा जमिन घट्ने क्रममा रहेको र जनसंख्या बढ्दो क्रममा रहेकाले यसको सन्तुलन मिलाउनका लागि अब कृषिमा आधुनिकिकरण जरुरी रहेको उनले बताए ।

४ दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा कृषि प्रसार सेवाका लासग नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधाणा, जलवायु अनुकुलन, साना किसानका लागि कृषि प्रसार विधि, कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लागि कृषि प्रसार रणनीतिहरु सम्बन्धी विभिन्न चारवटा विद्यामा कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

सम्मेलनमा भुटान, श्रीलंका, बंगलादेश र भारत गरी कुल ४ वटा राष्ट्रका ८५ वटा कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा विभिन्न राष्ट्रहरुका कृषि क्षेत्रका नीति निर्माणहरु, वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान, कृषि प्रसार विज्ञ र विद्यार्थी गरी करीब ४ सय जनाको सहभागिता रहेको जनाइएको छ ।


क्लिकमान्डु