निर्माण व्यवसायीलाई चेतावनी, प्रधानमन्त्री भन्छन्- गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बर्ताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह गरे ।

उनले व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उनले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता व्यक्त गरे ।

उनले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरे । उनले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको छ भने ।

संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने प्रधानन्त्रीको आग्रह थियो ।

“हामीले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाका रुपमा परिणत गर्न तथा लोकतन्त्र उत्तम व्यवस्था हो भन्ने जनताले अनुभूत गर्ने गरी सुशासनयुत्त, भ्रष्टाचारमुक्त, शान्ति सुरक्षायुक्त, क्लेश र कलहमुक्त व्यवस्था बनाउन आवश्यक छ ।” उनले भने, वर्तमान सरकार यो प्रणाली उत्तम छ भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्न प्रतिबद्ध छ ।”

महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यवसायीलाई मात्र दोषी ठह¥याउन नहुने बताए । उनले सार्वजनिक खरिद ऐनमा र मुलुकी अपराध संहिता, २०७४ मा रहेका कतिपय दफालाई व्यावहारिक बनाइनुपर्ने र संशोधन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा ज्येष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानन्धर लगायतलाई सम्मानित गरिएको थियो ।साधारण सभाले नयाँ नेतृत्वसमेत निर्वाचित गर्नेछ ।


क्लिकमान्डु