कसरी लिने १८ रुपैयाँमा ७० मिनेटसम्म फोन, म्यासेज र डेटा चलाउन पाइने टेलिकमको प्याकेज ?




काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न र डाटा चलाउन पाउँछन् ।

कसरी लिने त यो सेवा ? वा भनौं कसरी किन्ने त यो प्याक ? यो बिषयमा हामीले नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यसँग कुरा गरेर तपाइलाई जानकारी दिने प्रयास गरेका छौं ।

बैद्यले यो प्याक किन्ने वा यो सेवा लिने तरिका यसरी बताइन्ः

१. एप डाउनलोड गर्ने
यो तरिका अनुसार तपाइले टेलिकमका सेवा लिनको लागि नेपाल टेलिकमको ‘एनटी एप’ डाउनलोड गर्न सक्नुहुन्छ । तपाइले एनटी एप डाउनलोड गर्नुभएको छैन भने आइओएस (आइफोन) को लागि एपसेन्टर र इन्ड्रोइडको लागि गुगल प्ले स्टोरमा गएर एनटी एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

यो एप डाउनलोड भएपछि तपाइको मोबाइल नम्बर हालेर एक पटकको लागि लगइन गर्नुपर्छ । यति गरेपछि सो एपमा नै कसरी यो प्याक खरिद गर्ने हो भन्ने जानकारी राखिएको हुन्छ । त्यहाँ भएको जानकारी अनुसार यो प्याक खरिद गर्न सक्नुहुनेछ ।

२. १४१५ डायल गर्ने
यो तरिका अनुसार तपाइले संविधान दिवस प्याक खरिद गर्नको लागि तपाइको मोबाइलको डायल प्याडमा गएर ‘स्टार १४१५ (यो १४१५ अंग्रेजी अंक डायल गर्नुहोला) ह्यास’ डायल गर्नुहोस् । यति गरेपछि तपाइको मोबाइलमा टेलिकमका विभिन्न (अहिले ९ वटा) अफर तपाइले देख्नुहुनेछ ।

यसमध्ये हामीले अहिले तपाइलाई जानकारी दिन खोजेको संविधान दिवस प्याकेज (कन्स्टिच्युसनडे प्याक) को हो । यो अफर ८औं नम्बरमा छ । त्यसको तल तपाइले केही टाइप गर्न मिल्ने संकेत आइरहेको हुन्छ । त्यसमा तपाइले ८ (अंग्रेजी अंक ८) डायल गर्नुहोला । यति गरिसकेपछि तपाइले यो प्याकेज प्राप्त गर्नुहुनेछ ।

अर्काे पनि तरिका छ । त्यो केहो भने तपाइले माथि भनिए झै ‘स्टार १४१५ स्टार ह्यास’ टाइप गरेर सोझै यो प्याक लिन सक्नुहुनेछ । स्टार अंक र ह्यास टाइप गर्दा बीचमा स्पेस लिइरहनु पर्दैन भन्ने त तपाइलाई थाहा छदैहोला ।

यो प्याकेज असोज १ (आज) देखि असोज १५ गतेसम्म खरिद गर्न पाइने हो । तपाइले जुनसुकै समयमा पनि यो प्याकेज खरिद गर्न पाउनु हुन्छ । तर, यो प्याकेज खरिद गरिसकेपछि ७० मिनेट अर्थात १ घण्टा १० मिनेटको लागि मात्रै यो प्याकेज पाइने हो । त्यो बेलासम्म तपाइले सेवा प्रयोग गर्नुभएन भने तपाइको पैसा सित्तैमा सकिन्छ । त्यसैले प्याक खरिद गरेपछि फोन गर्ने हो कि, एसएमएस गर्ने हो कि, डेटा चलाउने हो कि वा सकिन्छ र मिल्छ भने यी तीनवटै वा मिल्ने र सकिने जति सेवा प्रयोग गर्ने हो गर्न थालिहाल्नुपर्छ ।


क्लिकमान्डु