कुन गाडी किन्दा कति छुट ? यी हुन् अटो शोमा पाइने सस्ता गाडी



काठमाडौं । नाडा अटो शो २०१८ मा विभिन्न ब्राण्डका महङ्गा मात्र नभएर सस्तो गाडी समेत राखिएका छन् । कम्पनीहरुले अटो शोका अवसरमा ग्राहक वर्गलाई विषेश छुट समेत दिएका छन् । अन्य बेलामा नपाईने सडक करको छुट, सस्तो किस्तामा गाडी लिन सकिने लगायतका सुविधा नाडा शोका अवसरमा उपलब्ध छ ।

यस्ता छन् हरेक कम्पनीका सस्ता मोडेलका गाडी (मूल्य सहित)

सुजुकी कम्पनीको ओम्नी कार्गो गाडी १० लाख ७९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । सुजुकीको सो मोडलमा कम्पनीले ४० हजार छुट दिने बताएको छ । यस्तै, हुन्डाई कम्पनीको ईओन नामक गाडी १८ लाख ९६ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । ड्याट्सन कम्पनीको रेडी गो गाडीपनि जम्मा १८ लाख ५९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

यसरी नै किया कम्पनीको पिकान्टो एक्स नामक गाडी २४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । प्यूगोट नामक कम्पनीको प्यूगोट २ हजार ८ मोडलको गाडी ८२ लाख रुपैयाँमा नै खरिद गर्न सकिन्छ ।

होण्डा कम्पनीको ब्रियो एस एम टी २९ लाख २५ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । भल्गस वागेन कम्पनीको पोलो ट्रेन्ड लाईन मोडलको गाडी २६ लाख ९५ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

महेन्द्र कम्पनीको महेन्द्र स्कर्पियो पिक अप गाडीको मूल्य ३७ लाख ९५ हजार रुपैयाँ रहेको छ । एमजी प्यासन कम्पनीको एमजि थ्री वान डट फाएभ एल कम्पनीको गाडी ३९ लाख रुपैयाँमा खरिद गर्न सकिन्छ ।

नाडा शोमा प्रदर्शनमा राखिएको टोयोटा कम्पनीको इटीआई ओएस लिभा जि मोडलको गाडी ३२ लाख रुपैयाँमा खरिद गर्न सकिन्छ ।

यस्तै, जिप कम्पनीको स्पोर्ट एमडलएमआईआर कम्पनीको गाडी ६८ लाख ५० हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

निशान कम्पनीको मिक्रा एक्टिभ एक्सएल मोडलको गाडी २६ लाख १० हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । फोर्ड कम्पनीको एस्पायर्ड मोडलको एम्बीयन्ट गाडी २६ लाख ९० हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । साथै स्कोडु मोडलको एक्टीभ गाडी ३८ लाख ४५ हजारमा खरिद गर्न सकिन्छ ।

गाडी खरिद गर्दा पाइने विषेश अफर

विभिन्न कम्पनीका ३५ प्रतिशत डाउन पेमेन्ट गरी खरिद गर्न सक्ने सुविधा रहेको छ । यसरी नै प्रायः कम्पनीले ग्राहक वर्गमा एक वर्षको लागि कर तिर्न नपर्ने सुविधा दिने भएका छन् । यसरी नै एक बर्षको अवधीमा ग्राहकले बीमाको सुविधा पाउने व्यवस्था रहेका छन् । यसरी बीमा सन्दर्भमा भने कम्पनीले ग्राहकको चाहना अनुसार गरिने भएकाले यो ग्राहकको छनोटमा पर्ने बताएका छन् ।

सो सुविधा हुन्डाई, सुजुकी, प्यूगोट, होण्डा, भल्गस वागेन, महेन्द्र, एमजी प्यासन, डेटसन, जिप, स्कोडा, रिनाउल्ट, निशान र टाटा लगायतका कम्पनीमा रहेको छ ।

तर, टोयोटा र सुभारु कम्पनीले भने यस्तो किसिमको सुविधा नराखेको बताएका छन् । टोयोटा कम्पनीले भने १० भाग्यशाली ग्राहकका जोडीलाई नै इण्डोनेसियाको बाली घुम्न लग्ने अफर दिएको छ । साथै, ३ जना विजेता जोडीलाई पोखरा घुम्ने व्यवस्था रहेको छ । हाल सम्म १५० बुक भइसकेको बताउने टोयोटा कम्पनीले अन्य छुट भने नदिएको बताएको छ ।

सुभारु कम्पनीलेपनि सबैभन्दा पहिले बुक गर्ने एक जना भाग्यशाली ग्राहलाई केही अमूल्य उपहार दिने जनाएको छ । यसरी दिईने उपहारको बारेमा भने कम्पनीले अहिले नै खुलाउन नहुने बताएको हो ।

सवारीका मूल्यमा कति पाइन्छ छुट ?

किया कम्पनीले रकममा नै छुट दिने जनाएको छ । हुन्डाईले १ लाख २० हजार रुपैयाँ छुट दिदैछ । प्यूगोट कम्पनीले ४ लाख छुट दिदै आएकोमा नाडामा ५ लाख नै छुट दिने जनाएको छ ।

होण्डाको गाडी किन्दा २ लाख रुपैयाँ छुट छ । भल्स वागेनले २५ लाख ५० हजार रुपैंया छुट दिने जनाएको छ । एमजी प्यासनले २ लाख २५ हजार छुट दिने जनाएको छ । जीपले पाटपूर्जामा सहुलियत हुने जनाएको छ ।

स्कोडाको गाडीमा ४ देखी ६ लाख छुट रहेको छ । टाटा कम्पनीले पनि ३ लाख ५० हजार छुट दिने जनाएको छ । सुजुकी कम्पनीका गाडी खरिद गर्दा पनि मूल्यमा छुट दिने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल