मुख्यमन्त्री पौडेल प्रदेशस्तरीय सशस्त्र प्रहरी कार्यालयका लागि जग्गा अवलोकन गर्दै



फाइल फोटो

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश स्तरीय सशस्त्र प्रहरी कार्यालयको लागि जग्गा उपलब्ध गराउने बताएका छन् ।

३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल सहितको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम् सिमेन्टसंगै जोडिएको करीब ६० विगाहा क्षेत्रफलको जग्गा अवलोकन गरेको छ । सोही क्रममा मुख्यमन्त्री पौडेलले शसस्त्र प्रहरी कार्यालयको लागि जग्गा उपलब्ध गराउने बताएका हुन् ।

शसस्त्रको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि करीब ३० विगाहा जग्गा आवश्यक पर्छ । मुख्यमन्त्री पौडेलले बेश क्याम्पका लागि हटियाको जग्गा उपयुक्त हुने भएकाले सो जग्गा प्राप्त गर्न आवश्यक प्रकृया शुरु गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई निर्देशन समेत दिएका छन् ।

वेश क्याम्पमा शसस्त्र प्रहरीको एउटा गण तथा अन्य शसस्त्र प्रहरीहरु गरेर करीब १ हजार जना रहने बताईएको छ । सो स्थानमा प्रदेश स्तरीय वेश क्याम्प सहित तालिम केन्द्र, शसस्त्र प्रहरीको व्यक्तिगत गाडी मर्मत स्थल तथा अस्पताल समेत बनाउने योजना रहेको शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक ईन्द्रराज कार्कीले बताए ।

जग्गा अवलोकनका लागि गएको टोलीमा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाको सहभागिता रहेको थियो ।


क्लिकमान्डु