नेपाल खाद्य संस्थानको व्यापारिक भवन निर्माण किन रोकियो ?



काठमाडौँ । रोक लगाइएको पाँच महिना बितिसक्दा समेत नक्शा पास गर्नका लागि प्रक्रियामा नआउँदा नेपाल खाद्य संस्थानको व्यापारिक भवन निर्माण अवरुद्ध भएको छ ।

संस्थानको भद्रकालीस्थित सात रोपनी जग्गामा व्यावसायिक भवन नक्शा पास नै नगरी नियम विपरीत निर्माण गरेको पाएपछि काठमाडौँ महानगरपालिकाले गत वैशाखमा तत्काल निर्माण रोकी नक्शा पास गर्न भनेको थियो ।

कामपाले रोक लगाएको धेरै समय बितिसक्दा सम्म नक्शा बनाउने प्रक्रियामा समेत संस्थान नआएकाले निर्माणको काम हुन नसकेको कामपा वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।

नक्शा मात्रै होइन संस्थानले कामपालाई पाँच वर्षदेखिको बक्यौतासमेत तिर्नुपर्ने बताइएको छ । संस्थानले कामपालाई सात करोड कर शीर्षकको बक्यौता रकम तिर्न र सम्बन्धित वडामा निर्माणका लागि नक्शा स्वीकृत गर्न कामपाले संस्थानलाई आग्रह गरिसकेको छ ।

संस्थानले भने आफूहरु नक्शा पासका लागि आउने जनाउँदै बक्यौता तिर्नका लागि भने आफूसँग रकम नभएको बताउँदै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा सरकारी वा निजी कार्यालयले भवन निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य रुपमा नक्शा स्वीकृत गर्नुपर्ने व्यवस्था छ । नियम विपरीत निर्माण गरेकाले कामपाले निर्माणमा रोक लगाएको तण्डुकारले बताए ।

अहिले निर्माणमा रोक लगाइएको भवन संस्थान आफ्नै नभई व्यापारिक प्रयोजनका लागि अरूले नै निर्माण गरिरहेको भवन भएको बताइएको छ ।

वडाका सार्वजनिक जग्गा पहिचान
पछिल्लो समय कामपाले ३२ वटै वडामा रहेका सार्वजनिक जग्गाको पहिचान गर्न अग्रसरता देखाएको छ । खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणको काम अघि बढाउन केही महिनाअघि कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई निर्देशन दिइसकेका छन् ।

प्रमुखको निर्देशनानुसार हालसम्ममा कामपा वडा नम्बर ११ मा आठ रोपनी जग्गा र अन्य तीन वडामा केही जग्गा पत्ता लगाइएको छ । यसअघि व्यक्तिगत रुपमा प्रयोग भइरहेका ती जग्गामध्ये केहीमा ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्रसहित सबैका लागि प्रयोगमा ल्याउने कामपाको योजना छ ।

कामपामा हालसम्म् वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा, भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैंचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न तीन करोड विनियोजन गरेको छ ।

थापाका अनुसार कामपाका सबै वडामा धेरै थोरै खुला सार्वजनिक जग्गा छ । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ ।

यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ । रासस


क्लिकमान्डु