गौरवका २१ आयोजना दयनीय, प्रधानमन्त्री नै सोध्छन्ः किन यस्तो भएको ?




काठमाडौं । सरकारले सबै प्रकारको साधन र स्रोत उपलब्ध गराएर शिघ्र रुपमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ २१ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राख्यो । र, सोही अनुसारको व्यवस्थापन पनि गर्यो ।

तर, परिणाम भने त्यस्तो देखिएको छैन । केही आयोजनाको प्रगति राम्रो भएपनि केही आयोजनाको प्रगति भने हालसम्म पनि शुन्य अवस्थामा नै छ ।

राजनीतिक रुपमा चर्को अतिक्रमण तथा नीतिगत रुपमा देखिएका समस्याका कारण ठूला भनिएका आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । केही आयोजना नराम्ररी समस्यामा परेका छन् भने केहीको प्रगति असाध्यै न्यून अर्थात् अर्को शब्दमा भन्दा कछुवाको गतिमा रहेको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले देशका ठूला परियोजनालाई विशेष प्राथमिकता दिएर ती आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेका थियो । तर काम गर्ने शैली तथा तरिका हेर्दा भने पूर्णत उल्टो र अन्य नियमति आयोजना भन्दा फरक देखिएका छैन ।

पश्चिम सेती जलविद्युत् आयोजना पनि ती मध्यको एक आयोजना हो । सो आयोजनाको प्रगति करिब करिब शुन्यको हालतमा छ । चिनियाँ कम्पनी थ्री गर्जेजले ७ वर्षसम्म होल्ड गरेर आयोजना अलपत्र पारेर छाड्ने अवस्थामा पुगेको छ ।

यस्तै काठमाडौंलाई तराई मधेशसँग जोड्ने द्रुर्तमार्गको काम समेत करिब करिब शुन्य अवस्थामा रहेको छ । सो आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको लागि प्रक्रिया अगाडि बढाएको छ ।

आयोजनाको रुट एलाइनमेन्ट तथा अन्य स्थानीयस्तरमा रुख काट्नेदेखि जग्गा सम्याउने काम गरिरहेको छ । सो आयोजनाको वित्तीय प्रगति भने ५.८ प्रतिशत रहेको छ ।

ललितपुरको नख्खुमा जग्गाको विवादका कारण आयोजनाले गति लिन सकेको छैन । आयोजना नेपाली सेनालाई दिइएको भएपनि भौतिक प्रगतिको अवस्था प्रभावकारी देखिएको छैन ।

यस्तै उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको अवस्था पनि त्यस्तै रहेको छ । सो आयोजनाको हालसम्म भौतिक प्रगति १२ प्रतिशत मात्रै रहेको छ ।

यस्तै कमजोर भौतिक प्रगति देखिएको आयोजनामा बुढीगण्डकी जलविद्युत् आयोजना पनि हो । सो आयोजनाको प्रगति मात्रै ९.९ रहेको छ । सो आयोजनाको वित्तीय प्रगति पनि १० प्रतिशत मात्रै भएको छ ।

यस्तै उत्तर दक्षिण कर्णाली करिडोरको काम पनि त्यस्तै देखिएको छ । सो आयोजनालाई पनि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भएपनि भौतिक प्रगति मात्रै १२ प्रतिशतको हाराहारीमा रहेको छ । आयोजनाको वित्तीय प्रगति भने ११ प्रतिशत छ । सो आयोजना सुरु भएको ९ वर्ष पूरा भएको छ ।

यस्तै रेल्बे तथा मेट्रो विकास आयोजनाको प्रगति भने अस्वाभाविक देखाइएको छ । सो आयोजनाको भौतिक प्रगति १३.७ प्रतिशत देखाइएको छ । तराईका केही जिल्लामा निर्माण भइरहेका रेल्बे सञ्जालको प्रगपितलाई जोडेर त्यस्तो तथ्यांक तयार पारिएको पनि हुन सक्छ । सो परियोजनाको वित्तीय प्रगति भने १४.९ प्रतिशत रहेको छ । विगत ८ वर्षदेखि सो परियोजना सञ्चालनमा छ ।

यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ४५ प्रतिशत देखिएको छ । सो आयोजना विगत १० वर्षदेखि सञ्चालनमा छ ।

यस्तै पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति ४०.२ प्रतिशत रहेको छ । आयोजनामा चरम राजनीतिक हस्तक्षेप, सरकार बदलिएपिच्छे बदलिने आयोजना प्रमुख, गलत डिजाइनका कारण पनि आयोजनाको अवस्था दुरुह बन्दै गएको छ ।

मंगलबार साँझ बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको नै प्रगति न्यून भएको भन्दै सरोकारवालाले गुनासो गरे ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा नै ढिलाई हुनुको पछाडिको कारण के हो भन्दै प्रश्न गरेका थिए ।


क्लिकमान्डु