दुबईका राजदूतसँग ऊर्जामन्त्री पुनले भने- ऊर्जामा लगानी गर्नोस



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । शिष्टाचार भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनलाई भेटेका थिए । भेटवार्ताको क्रममा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागी प्रस्ताव गरेका थिए । उनले लगानीको सुरक्षाका लागी सरकारले कुनै कसुर बांकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याईदिन आग्रह गरेका थिए ।

युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए । ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूतले आग्रह गरेका छन् । त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाई छ ।

भेटका क्रममा युएईले १७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए । उक्त सम्मेलनमा प्रत्येक बर्ष नेपालले प्रतिनिधीत्व गर्दै आएको छ । गत वर्ष तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए ।

मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतहरुसंग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् । नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी उपयुक्त अवसर भएको भन्दै उनले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्दै आएका छन् ।

मन्त्री पुनले लगानीको वातावरण सरकारले बनाउने भन्दै नेपालको विकासको लागी वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै आएका छन् । उनले त्यसका लागी देशभित्र र बाहिर बजार बनाउन सरकारले पहल गर्ने दावी गर्दै आएका छन् ।


क्लिकमान्डु