प्राडो चढेर अटो मेला पुगेका अर्थमन्त्रीले भने- पैसा हुनेले गाडी चढ्ने हो, ऋण लिएर नचढ्नुहोस्



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नाडा अटो शो–२०१८ को उद्घाटन गरेका छन् । करोडको प्राडो चढेर अटो शोको उदघाटन गर्न भृकुटीमण्डप पुगेका अर्थमन्त्री खतिवडाले पैसा हुनेहरुले गाडी चढ्ने बताए । तर, उनले ऋण लिएर गाडी नचढ्न सुझाब दिए ।

‘अघि यहाँ एकजना व्यवसायी मित्रले मलाई वर्षैपिच्छे गाडी फेर्न मन लाग्छ भन्नुभयो, पैसा हुनेले नै गाडी चढ्ने हो,’ खतिवडाले भने, ‘तर, मेरो सुझाब छ ऋण लिएरचाहीँ गाडी नचढ्नुहोला ।’

अर्थमन्त्री खतिवडा चढ्ने गाडी

ऋण लिएर गाडी चढ्दा यसले व्यक्ति र देश दुबैलाईफाइदा नगर्ने उनको भनाई थियो ।

व्यवसायी उमेशलाला श्रेष्ठले वर्षैपिच्छे हुने अटो शोमा नयाँ नयाँ गाडीहरु आउने भएकाले आफूलाई गाडी फेर्न मन भएको बताएका थिए ।

आजदेखि ६ दिनसम्म चल्ने अटो शोमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । जसमध्ये करीब ९० प्रतिशतले बैंकबाट ऋण लिएर गाडी किन्ने गर्छन् । बैैंक तथा वित्तीय संस्थाहरुले गाडीको मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन्छन् ।

गाडी किन्न चाहनेले बैंकलाई मासिक किस्ता बुझाएर गाडीको मूल्यको ६५ प्रतिशतसम्म ऋण लिन पाउँछन् । उदाहरणका लागि १ करोडको गाडी किन्नुपर्यो भने ३५ लाख रुपैयाँ बुझाएपछि बैंकले ६५ लाख रुपैयाँ ऋण दिन्छन् ।

यस्तो अवस्थामा ग्राहकले अर्थमन्त्रीको सुझाब मान्लान् वा नमान्लान् त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल