सौर्य उर्जा उत्पादनमा पनि सर्बसाधारणलाई सेयर, सोलार फर्म २० करोडको आइपीओ बेच्दै




काठमाडौं । वित्तीय तथा उत्पादनमूलक क्षेत्रका लगानी गरेको उद्योग तथा प्रतिष्ठानले आम नागरिकलाई सेयर बिक्री गर्ने कुरा नयाँ नौलो होइन । उजलविद्युत् आयोजनाले त स्थानीयबासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बिक्री गर्ने कुरा पनि सामान्य जस्तै भएको छ ।

तर नेपालमा नै पहिलो पटक सौर्य ऊर्जा परियोजनाले समेत स्थानीयबासीलाई सेयर बिक्री गर्ने भएको छ ।

स्थानीयबासीलाई आयोजनामा स्वामित्व भएको अनुभव गराउने लक्ष्यका साथ सेयर बिक्री गर्न लागिएको जनाएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सौर्य परियोजनाले स्थानीयबासीलाई सेयर बिक्री गर्ने योजना बनाएको छ ।

सोलार फर्म प्रालिले स्थानीयवासीलाई २० करोड रुपैयाँ बराबरको शेयर वितरण गर्ने तयारी गरेको छ ।

कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने जानकारी दिए ।

गैरआवासीय नेपालीलाई २० करोड तथा संस्थापकलाई १० करोडको सेयर उपलब्ध गराइने उनको भनाइ छ ।

करीब ५० करोड लागतको ५ मेगावाट गावाट क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ । यो ५० करोड रुपैयाँ लागतमध्ये संस्थापकको १० करोड, गैरआवाशीय नेपालीको २० करोड र स्थानीय सर्बसाधारणको २० करोड रुपैयाँ सेयर रहने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुने आलेले बताए । उक्त विद्युत् खरीदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ ।

नेपालमा सौर्य परियोजनाले नै सेयर बिक्री गर्न लागेको यो पहिलो पटक हो ।

कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिनाभित्र विद्युत् उत्पादन गर्ने योजना रहेको बताउछन् ।

छिट्टै काम शुरु हुने जानकारी दिदै उनले सौर्य परियोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने जानकारी दिए ।

सो कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक १३ लाख भाडा तिर्नेछ । सौर्य ऊर्जा खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरीद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु