उपत्यका बाहिर २० स्थानमा नयाँ सेयर ब्रोकर कार्यालयको माग



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर ब्रोकर कार्यालय(सेक्यूरिटिज) का नयाँ शाखा खोल्नका लागि २० स्थानबाट माग आएको छ ।

बोर्डका अनुसार तुलसीपुर, जनकपुर, दमक, विरेन्द्रनगर, भक्तपुर र भैरहवामा नयाँ शाखाका लागि माग भएको छ । यस्तै, पोखरा, कावासोती, विराटनगर, बीरगञ्ज, वुटवल, धरान, विर्तामोड, महेन्द्रनगर, बुटवल, हेटौंडा, स्याङ्जा, चरिकोट, भरतपूर, टाँडीबाट पनि नयाँ शाखा स्थानपनाका लागि निवेदन दर्ता भएको छ ।

नयाँ शाखाका लागि माग आएपछि हालसम्म बोर्डले स्वीकृती भने दिइसकेको छैन ।

नेपाल धितोपत्र बोर्डका उप–निर्देशक निरञ्जय घिमिरेले अहिले निवेदन परेका जिल्लामा बोर्डले अध्ययन गरिरहेका बताए । घिमिरे भने–‘हामी कहाँ निवेदन आएको छ । तर अहिले स्वीकृति दिइसकेका छैनौं । अहिले हामी अध्ययन गरिरहेका छौं, सबै प्रक्रिया पूरा गरेको स्थानमा मात्र शाखा स्थापनाको लागि स्वीकृति दिइने छ ।’

मुख्यमन्त्रीको अभिव्यक्तिपछि जनकपुरमा उत्साह

केही दिन अघि एक कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा सेयर ब्रोकरको शाखा कार्यालय खोलिने कुरा सार्वजनिक गरेका थिए । प्रदेश नम्बर २ कै अस्थायी राजधानीको रुपमा रहेको जनकपुरमा शाखा खोल्ने अभिव्यक्तिसंगै स्थानीयबासीमा उत्साह छाएको छ ।

जनकपुर उपमहानगरपालिका–१भानुचोकमा घर भएका राहुल झाका अनुसार सेयर बजारको बिषयमा मानिसहरुलाई विस्तृतमा बुझाउन आवश्यक छ । अहिलेसम्म सेयर बजारबारे सामान्य रुपमा बुझेको उनले बताए ।

यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका बेनौलीका विकास गुप्ताले समेत ब्रोकरको नयाँ शाखा कार्यालय स्थापना गर्ने कुरा निकै सकारात्मक रहेको बताए । गुप्ताका अनुसार–‘केन्द्रमा सिमित रहेको कारोबार प्रणाली गाउँ गाउँमा ल्याउनु राम्रो पक्ष हो । स्थानीय स्तरमा नै ब्रोकर शाखा कार्यालय स्थापना भए काठमाडौं नै गएर सेयर किन्ने झन्झट नरहने उनको बुझाई रहेको छ ।

जनकपुरको औरही गाउँपालिका वडा नम्बर ६ चक्कर घर भएका कुलदीप साहपनि सेयर बजारबारे अहिलेसम्म सीमित व्यक्तिलाई मात्र थाहा भएको बताउँछन् ।

आफू बिबिएस तेस्रो बर्षमा अध्ययरत रहेको बताउँदै शाहले अहिलेसम्म सेयर बजारलाई ब्यबहारिक रुपमा बुझ्न नपाएको बताए । साथै उनले स्थानीय स्तरमा ब्रोकर कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताउँदै आफूहरु उत्साहित रहेको बताए ।

धनुषा जिल्ला कै औरी गाउँ बडा नम्बर ४ बिक्रमपुरका राकेश यादव आफैमा लगानीकर्ता हुन् । उनले काठमाडौं कै एशियन सेक्यूरिटिज मार्फत सेयर कारोबारमा सहभागी हुँदै आएको कुरा जानकारी दिए । उनको विचारमा–‘आफ्नै ठाउँ वरपर सेयर ब्रोकर कार्यालय खुल्दा लगानी मैत्री वातावरणको सिर्जना हुन्छ ।

उपत्यका बाहिर जम्मा १३ कार्यालय सञ्चालन

हाल काठमाडौं उपत्यका बाहिर सेयर ब्रोकरको १३ स्थानमा रहेको छ । कालिका सेक्यूरिटिज नेपालगञ्ज, सुमेरु सेक्यूरिटिज झापा, ईप्पेरियल सेक्यूरिटिज नेपालगञ्ज, अक्सफोर्ड सेक्यूरिटिज नारायणघाट, भिजन सेक्यूरिटज काभ्रेबाट कारोबार सेयर कारोबार हुँदै आएको छ ।

यसैगरी आर्यतारा ईन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज बुटवल, नासा सेक्यूरिटिज विरगञ्ज, सनी सेक्यूरिटिज चितवन, प्राइमो सेक्यूरिटिज विरगञ्जबाट हाल कारोबार भइरहेको छ ।

श्रीहरी सेक्यूरिटिज झापा, अग्रवाल सेक्यूरिटिज विराटनगर, दिपशिखा धितोपत्र कारोबार धनगढी र अनलाईन सेक्यूरिटिज धरानबाट कारोबारपनि सेयर कारोबार हुँदै आएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार सेयर ब्रोकरको कार्यालय(सेक्यूरिटिज)का शाखा कार्यालय खोल्नका चाहिने प्रावधान भने यस्ता छन् ।

१. नेपाल धितोपत्र बोर्डका अनुसार कुनैपनि नयाँ ठाउँमा सेयर ब्रोकरको कार्यालय खोल्नका लागि धितोपत्र दलाल कम्पनीको चुक्ता पूँजी २०७४ पुस मसान्त भित्र २ करोड पुगेको हुनु पर्नेछ ।

२. मुख्य कार्यालय तथा शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तीमा एक हजार वर्ग फिट हुनुपर्नेछ ।

३. मुख्य कार्यालय तथा शाखा कार्यालयमा कम्तिमा बाणिज्य शास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टड एकाउन्टेन्सी गरेको व्यक्ती प्रमुख र परिपालन(कम्प्लायन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तिमा पाँच जना कर्मचारी हुनुपर्ने छ ।

४.शाखा कार्यालयबाट हुने कारोबार यथासम्भव चाँडो मुख्य कार्यालय मार्फत हुने व्यवस्था हुनुपर्नेछ ।

५. धितोपत्र दलाल कम्पनीको शाखा कार्यालयमा केही अन्य व्यवस्था हुनु जरुरी छ । जस्तै

क. यसमा कम्तिमा ३ थान कम्प्युटर र त्यसकालागि पावर व्याकअप भएको हुनुपर्ने छ ।

ख. कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टा छुट्टै हुनुपर्ने छ ।

ग. टेलिफोन,फ्याक्स, इमेल, इन्टरनेट, इन्ट्रानेट, तथा सिसिटिभि जस्ता पूर्वाधारको व्यवस्था हुनुपर्ने छ ।

घ. कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामाग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने छ ।

ङ. कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा ५ मेगा बाइट फास्ट नेटवर्कको प्रयोग भएको हुनुपर्ने छ ।

च. प्रत्येक शाखा कार्यालयले काठमाडौंमा उपलब्ध मुख्य कार्यालयले व्यवस्था गरेको डिपोजीटका आधारमा कारोबारको लिमिट प्राप्त गर्नु पर्ने छ ।

ज. मुख्य कार्यालयले शाखा कार्यालय सञ्चालन र व्यवस्थापन सम्बन्धमा एक कार्यविधि बनाई लागू गर्नु पर्ने र सो कार्यबिधि अनिवार्य रुपमा बोर्ड र नेप्सेलाई उपलब्ध गराउनु पर्नेछ ।

झ. लगानीकर्ताहरुको जानकारीका लागि आफ्नो कार्यालयसंग सम्बन्धित जानकारीहरु समावेस गरी छुटटै वेव साइट बनाउनु पर्नेछ ।

६. हाल शाखा कार्यालय स्थापना गरीसकेका धितोपत्र दलाल कम्पनीहरुले २०७४ भाद्र मसान्तभित्र बुदाँ नं ३ बमोजिम कर्मचारी व्यवस्था र बुदाँ नम्बर ५ बमोजिम तोकिएको पूर्वाधार तथा अन्य व्यवस्था समेत पूरा गरी सकेको हुनुपर्नेछ ।


क्लिकमान्डु