सेयर बजारमा अल्पकालीन खरिद बिक्री हाबी, ५/१० कमाउने वा गुमाउने लगानीकर्ता सक्रिय



काठमाडौं । लामो समयदेखि घट्दो क्रममा रहेको सेयर बजारमा यो साता अल्पकालिन खरिद विक्री (सर्टटर्म ट्रेडिङ) हाबी भएको छ ।

आफूले किनेको सेयरको मूल्य ५ वा १० रुपैयाँ बढ्ने वित्तिकै विक्री गरिहाल्ने प्रबृत्ति बढेका कारण सेयर बजार एकै दिन कुनै समय निकै बढ्ने र कुनै समय निकै घट्ने गरेको छ ।

भदौ २० गते बुधबार (आज) कारोबार सुरु हुने समयमा नेप्से परिसुचक १२१०.८५ बिन्दुमा थियो । त्यसको एक घण्टा पछाडि अर्थात १२ बजेर ११ मिनेट जादा परिसुचक करिब ११ अंकले बढेर १२२१.१७ बिन्दुमा पुग्यो ।

यस्तै सोही दिन साढे १ बजे परिसुचक सबा १२ बजेको तुलनामा करिब ३ अंकले घटेर १२१८.९२ बिन्दुमा कायम रह्यो । यस्तै साढे २ बजे भने १ बजेको तुलनामा परिसुचक करिब २३ अंकले बढेर १२४२.३९ विन्दुमा पुग्यो । बजार बन्द हुने समय अर्थात ३ बजे परिसुचक साढे २ बजेको तुलनामा करिब ८ अंकले घटेर १२३४.१० बिन्दुमा आइपुग्यो ।

अघिल्लो दिनको तुलनामा बुधबार परिसुचक करिब २४ अंकले बढ्यो ।

तर, इन्भेष्टर फोरमका महासचिब राजन लम्साल भने सर्टटर्म कारोबार बढेको मान्न तयार छैनन् । उनी लगानीकर्ताको मनोबल बढ्न थालेकोले बजारमा सकारात्मक प्रभाव परेको बताउँछन् ।

‘लगानीकर्ताले कम्पनीले दिने प्रतिफल हेरेर लगानी गर्न थालेको देखिन्छ, केही कम्पनीहरुले गत बर्षको बोनस घोषणा गर्न थालेको भन्ने हल्लाले पनि बजारमा सकारात्मक प्रभाव परेको छ,’ महासचिब लम्सालले क्लिकमाण्डूसँग भने ।

उनले बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अबस्था सहज भएकोले ब्याजदर घटाउने आश्वासन दिएको र यसले पनि लगानीकर्ताको मनोबल बढाएको उनको भनाइ छ ।

‘केही दिन अगाडि हामीले बैंकर्स एसोसिएसनका पदाधिकारीसँग भेट गरेका थियौं, उहाँहरुले ब्याजदर केही घट्ने आश्वासन दिनुभएको थियो, यसले पनि लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ,’ लम्सालले भने ।

केही ब्रोकरले भने बजारबाट पहिला नै भागिसकेका लगानीकर्ता फर्कन थालेको बताए । धितोपत्र बोर्डले ब्रोकरलाई बजारसँग सम्वन्धित विषयमा प्रतिक्रिया दिन बन्देज गरेका कारण उनीहरु औपचारिक रुपमा आफ्नो धारणा राख्न सक्ने अबस्थामा छैनन् ।

‘बजारबाट पहिला नै भागिसकेका केही लगानीकर्ता फर्कन थालेका छन्, उनीहरु पनि आज किनेको सेयरमा केही फाइदा हुने वित्तिकै बेच्दै बजारको मनोविज्ञान परिक्षण गरिरहेका छन्,’ ती ब्रोकरले भने ।

साताको चौंथोदिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक २३.८९ अंकले बढेको हो । १.९७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२३४.१३ अंकमा पुगेको छ ।

सेयर बजारमा बुधबार १६७ कम्पनीका सेयरको कारोबार भयो । २३ लाख ७२ हजार ३ सय ६३ कित्ता सेयर किनबेच हुदाँ ७० करोड ८८ लाख ५० हजार ५ सय ६८ रुपैंयाको कारोबार भएको छ ।

बुधबार बैंकिङ समुहको सुचक २२.७४, होटल १९.११, विकास बैंक ३०.७९, जलविद्युत ३९.७९, फाइनान्स कम्पनी ९.५२, निर्जीवन बीमा १६२.६७, अन्य ६.६५, माइक्रोफाइनान्स ४२.०९ र जीवन बीमा समुहको सुचक ९५.१९ अंकले बढेका छन् ।

ट्रेडिङ २.७९ अंकले र उत्पादन मूलक समूह ३६.७४ अंकले घटेका छन् ।

आज बजार बढेको दिन काबेली विकास बैंकका लगानीकर्ताले ९.७५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यूनिलिभरका लगानीकर्ताले ३.९५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु