मर्मत गर्न ४ दिन, बल्ल सुचारु भो बालाजु क्षेत्रमा विद्युत् आपूर्ति



काठमाडौँ । गत शनिबारदेखि प्राविधिक समस्या देखिएको नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेशनको मर्मत सम्पन्न भएको छ ।

आज साँझ मर्मत कार्य सम्पन्न भएलगत्तै बालाजु क्षेत्रमा नियमित विद्युत् आपूर्ति शुरु भएको छ । सबस्टेशनमा रहेका दुई वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको थियो ।

सबस्टेशनको मर्मत सकिएको जानकारी दिँदै बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधान भएको र विद्युत् नियमित भएको जानकारी दिए ।

ट्रान्सफर्मरमा समस्या देखिएपछि धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु र बालाजु औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

प्रमुख रेग्मीले त्यस क्षेत्रमा वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको र विद्युत् आपूर्तिमा परेको समस्याका कारण स्थानीय बासिन्दालाई परेको असुविधाप्रति क्षमायाचनासमेत गरेका छन् ।

मर्मत सम्भारकार्यको प्रत्यक्ष अवलोकन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई छिटोभन्दा छिटो नियमित विद्युत् उपलब्ध गराउन निर्देशन दिएका थिए ।


क्लिकमान्डु