अर्थमन्त्रीको लचिलो अभिव्यक्तिले सेयर बजारमा सकारात्मक संकेत, लगानीकर्ताहरु उत्साहित



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नचाहिदो कर हटाउने अभिव्यक्ती दिएसंगै त्यसको असर नेप्से परिसूचकमा समेत परेको छ ।

अर्थमन्त्री भएयता लगातार सेयर बजार अनुत्पादक भएको लगायतको कठोर अभिव्यक्ति दिंदै आएका अर्थमन्त्री खतिवडाले आइतबार एक कार्यक्रममा केही लचिलो अभिव्यक्ति दिएका थिए ।

पुँजीबजारका लगानीकर्ताहरुले अर्थमन्त्रीको यो अभिव्यक्तिले केही मनोबल बढाएको भन्दै खुशी व्यक्त गरेका छन् । निरन्तर परिसूचक ओरालो लागेर निराशाको स्थितिमा रहेका लगानीकर्ताको मुहारमा सोमबार एकाएक खुशी छायो ।

सोमबार साढे १ बजेको हाराहारीमा २१ अंकसम्मले बढेपनि परिसूचक कारोबार बन्द हुने बेलामा १५.९८ अंकले बढ्न पुग्यो । लामो समयपछि नेप्से सूचक दोहोरो अंकले बढेको हो ।

नेप्से इण्डेक्स बढेसँगै कारोबार रकमपनि बढेको छ । लामो अन्तरालपछि सोमबार एकैदिन नेप्सेमा ५४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । जबकी अघिल्लो दिन आइतबार भने ३० करोड २५ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको थियो ।

एशियन सेक्यूरिटिजमा भेटिएका सेयर लगानीकर्ता माधव खनालका अनुसार अर्थमन्त्री खतिवडाले नचाहिंदो करको अन्त्य गर्ने कुरा गर्नु भयो, यसले नै बजारमा प्रभाव पारेको हो । अर्थमन्त्रीको यो अभिव्यक्तिले बजारमा सकारात्मक प्रभाव परेको खनालले बताए । उनले यसको अलावा बैंकले दिने बोनस समेत बजार बढाउन सहयोगी रहेको तर्क गरे ।

त्यसैगरी, अनलाइन सेक्यूरिटिजमा भेटिएका कृष्ण रेग्मीले माथिल्लो निकायमा रहेका जान्ने बुझ्नेले बजारको सकारात्मकतामा जोड दिन थालेकाले बजार बढेको हो, ठ्याक्कै भन्दा अनलाइन र करको विषयले बजार बढाएको बताए ।

रेग्मीले पनि अर्थ मन्त्रीको अभिव्यक्ती तथा नेप्सेले अनलाइन ट्रेडिङ्गमा देखाएको जागरुपताले लगानीकर्तामा उत्साह थपेको बताए । उनले भने–लगानीकर्ता पर्ख हेरको अवस्थामा लामो समयसम्म रहेकाले अब बढेको बजारले केही हलचल ल्याउने छ ।

अनलाइन सेक्युरिटिज मै भेटिएका ज्वाला गौतमको मत भने फरक छ । गौतमले बजारको अवस्थालाई एकै दिनमा भन्दापनि केही दिनपछि मात्र एक किसिमको अनुमान लगाउन सकिने बताए । केही दिनअघि बजार बढ्दा खुशी भएको क्षणको स्मरण गर्दै उनले भने–पहिलेपनि खुशी त भएको हो, तर त्यो धेरै दिन टिक्न सकेन ।

यसैगरी कालीका सेक्यूरिटिजका लगानीकर्ता निर्मल न्यौपाने भन्छन्–‘अर्थ मन्त्रीले अन्योलता हटाउने पक्षमा गरेको सम्बोधनले नै बजार बढेको हो, अहिले यहिँ अभिव्यक्ती र बाम सरकारले ल्याएको बजेटले नै लगानीकर्तामा सकारात्मकताको लक्षण देखाएको हो ।’

न्यौपानेले मोटो रकमको लगानी गर्ने लगानीकर्ताको बजारमा प्रवेश भएकाले पनि बजारमा यस्तो संकेत देखिएको धारण व्यक्त गरे । आजभोली कारोबारलाई प्रविधि मैत्री बनाउने प्रसंङ्ग चलिरेकाले यस्ता विकास सधैं बजारको पक्षमा रहनेपनि उनले बताए ।

क्रिष्टल कन्चनजंगा सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता ऋषीराम खनालको बिचारमा बजार बढ्ने र घट्ने दुवै अवस्थामा एक बिन्दुमा पुगेपछि बजारले आफ्नो चक्रपरिवर्तन गर्छ, हो अहिले त्यस्तै अवस्थामा बजार गुज्रीरहेको छ ।’

खनालले भने–बजार अहिले घट्दो क्रममा रहेकाले अब भनेको सकारात्मक लयमा जानुको विकल्प छैन । यस्तै आगामी दिनमा बजारको बिन्दुमा आउने सकारात्मकताले निरन्तरता पाएमा बजार माथि जाने उनले बताए ।

लगानीकर्ताको मनोबल फिर्नु भनेको बजारमा एककिसिमको उछाल भित्रने संकेत रहेको उनको धारणा छ । साथै अब बजारले सकारात्मकताको भाका टिप्न खोजेको र यो लगानीकर्ताको लागि आशाको केन्द्र समेत बनेको उनले बताए ।


क्लिकमान्डु