तराई-मधेशको आर्थिक तथा सामाजिक विकासमा सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा



राजविराज । अर्थमन्त्री डा युवराज खतिवडाले तराई-मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको बताउँदै काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य चाँडै शुरु हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए । पूर्वाधार विकासका लागि तराई मधेशमा खर्चेको बजेट सदुपयोग हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले कुनोली भन्सार र छोटी भन्सार कार्यालय तथा तराई मधेशमा रहेको भन्सार कार्यालयको स्तरोन्नतिका लागि गृहकार्य भइरहेको बताए ।

यसैबीच अर्थमन्त्री डा खतिवडाले आजै सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रको निरीक्षण गरे ।

विद्युत्, पानी, सुरक्षालगायत आधारभूत पूर्वाधारसमेत नभएका कारण उद्योग सञ्चालनमा समस्या रहेको गुनासो बढेपछि अर्थमन्त्री खतिवडाले औद्योगिक क्षेत्रको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको समस्याका विषयमा चासो व्यक्त गर्दै मुलुकका अन्य क्षेत्रमा औद्योगिक सुरक्षा बलको व्यवस्था भए जस्तै सप्तरीमा पनि गर्न सकिने सुझाव दिए ।

सरकारी उपेक्षा र रेखदेखको अभावमा औद्योगिक क्षेत्र लथालिङ्ग भएको भन्दै उद्योग क्षेत्र कार्यालयमा औद्योगिक उद्योगी–व्यवसायीले भदौको पहिलो सातामा तालाबन्दी गरेका थिए ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भदौ १५ भित्र समस्याको समाधान खोज्न सामूहिक पहल गर्ने लिखित सहमतिपछि तेस्रो दिन कार्यालयमा लागेको तत्काल ताला खोलिएको थियो ।

भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । राजविराजबाट चार किलोमिटर उत्तर रुपनी गाउँपालिकामा अवस्थित औद्योगिक क्षेत्र झण्डै २२ बिघा क्षेत्रफलमा फैलिएको छ ।

औद्योगिक क्षेत्रमा १० वटा उद्योग सञ्चालन गर्न सक्ने क्षमता भए पनि हाल कोशी पोलिमर्स, मिलन डेरी, कृष्णा खाद्य, महालक्ष्मी र पद्य ज्योति प्लास्टिक उद्योग मात्र सञ्चालनमा छन् ।

त्यस्तै अर्थमन्त्री डा खतिवडाले राजविराजमा आजै करदाता सेवा कार्यालयको उद्घाटन गरे । यसअघि आन्तरिक राजश्व कार्यालय नहुँदा सप्तरीका उद्योगी–व्यवसायीले सिरहाको लहानबाट सेवा लिँदै आएका थिए । रासस


क्लिकमान्डु