कर्मचारी सरुवाले मन्त्रालय नै थिच्यो, विभाग र कार्यालहरुमा पनि काम सुस्त




काठमाडौं । अहिले सरकारका कुनै पनि विभाग वा कार्यालयबाट हुने गतिविधि कम छन् । सरकारी कार्यालयहरु आफै प्रभावकारी रुपमा काम गर्न सकिरहेका छैनन् ।

यस्तो हुनुको कारण कार्यरत कर्मचारीको सरुवा हुने र नयाँ आउने कर्मचारी समयमै नआउदा परेको प्रभावले हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हेर्ने हो भने अबस्था झन् गम्भीर देखिन्छ । मन्त्री लालबाबु पण्डितदेखि सचिब र महाशाखा प्रमुखको कार्यकक्षमा सरुवा माग्ने र गराइ दिनेहरुको भीड लाग्ने गरेको छ ।

‘अब त यो मन्त्रालयको नामै सरुवा मन्त्रालय राख्नुपर्ला जस्तो भइसक्यो, कर्मचारीको सरुवा बाहेक कुनै काम गर्न पाइने र सकिने अबस्था नै रहेन,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारी भन्छन् ।

किन भयो त यस्तो ?
केही बर्ष पहिलासम्म निजामति कर्मचारीको सरुवा बर्षको २ पटक गर्ने ब्यवस्था थियो । यसो हुँदा काम प्रभावित भएको भन्दै बर्षको एक पटक मात्रै गर्न थालियो । बर्षको एक पटक भनेको साउन भदौमा नै कर्मचारीको सरुवा हुने भन्ने हो ।

तर, देश संघीयतामा गयो । स्थानीय तह र प्रदेश सरकार गठन भए । यी सरकारलाई पनि कर्मचारी चाहिए । अनि बर्षको एक वा दुई पटकको कर्मचारी सरुवा ब्यवस्था हटाएर आवश्यकताको आधारमा जहिले पनि सरुवा र काजमा कर्मचारी पठाउने गर्न थालियो ।

‘स्थानीय तह र प्रदेशमा कर्मचारी भएन भन्ने कुरा आउँछ, कर्मचारी पठायो यसले भएन, फलानोलाई पठाइ दिनुस् भन्ने अर्काे कुरा आउँछ, अनि यताको कर्मचारी उता पठायो, उताको कर्मचारी त्यता पठायो, अरु त केही कामै भएन,’ अधिकारीले थपे ।

कहिलेसम्ममा रहन्छ यो समस्या ?
कर्मचारी सरुवा र काज मिलानको काम गर्दा गर्दै सामान्य प्रशासन मन्त्रालयले अरु काम गर्न नभ्याएको र सम्बन्धित अन्य विभाग, निकाय र कार्यालयहरुमा पनि कर्मचारी सरुवाका कारण केही मात्रामा काम प्रभावित भएकोले यसको टुंगो चाढो लगाउनु पर्ने आवश्यकता रहेको अधिकारी बताउँछन् ।

‘यसरी कर्मचारी सरुवा मात्रै गरेर बस्दा हाम्रो मन्त्रालयको मात्रै होइन, अन्य मन्त्रालय, विभाग र कार्यालयहरुको समेत काम प्रभावित भयो, अब कुन ठाउमा कुन कर्मचारीलाई पठाउने हो वा कुन ठाउमा कति कर्मचारी पठाउने हो भन्ने टुंगो लगाएर सरुवा कार्य तत्काल नरोकी भएन,’ उनी भन्छन् ।

सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष सुरु भएको ३ महिनाभित्रमा कर्मचारी सरुवा तथा काज मिलाउन गरिसक्ने योजना बनाएको छ । कर्मचारी ब्यवस्थापन छिटो र प्रभावकारी नहुदा सरकारी सेवा प्रभाव नै कमजोर भएको भन्दै सामान्यले असोज मसान्तभित्र सरुवा गर्ने वा गर्नुपर्ने काम सिध्याउने योजना बनाइएको सहसचिब अधिकारीले जानकारी दिए ।

‘दशै अगाडि नै यो काम सकिसक्छौं, त्यसपछि यतिन्जेलको लागि कर्मचारी सरुवाको काम हुदैन भनेर अरु महत्वपूर्ण काममा लाग्नुपर्नेछ,’ अधिकारीले भने ।


क्लिकमान्डु