कहाँ पुग्यो बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा ? धेरै पैसा लाग्नेभएपछि हच्कदै बैंक




काठमाडौं । डा. रेवत बहादुर कार्की धितोपत्र बोर्डको अध्यक्ष भएदेखि नै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने चर्चा चल्यो ।

तर, चालु आर्थिक बर्षको मौद्रिक नीतिमा नै बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषय उल्लेख भएपछि बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिनुपर्छ भन्दै लबिङमा लागेहरुमा उत्साह थपियो ।

मौद्रिक नीति कार्यान्वयनमा आएको २ महिना बित्न लागेपछि बैंकले कसरी सेयर ब्रोकरको काम गर्छन् भन्ने अझै प्रष्ट भएको छैन ।

स्रोतका अनुसार बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा नेपाल राष्ट्र बैंक खासै सकारात्मक थिएन । तर, अर्थसचिब डा. राजन खनालले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने भन्ने मन्त्रालयको लाइन रहेकोले सो बिषय समाबेश गर्न जोड दिएपछि मौद्रिक नीतिमा सो बिषय समावेश भएको स्रोतको दाबी छ ।

नीतिमा आएपनि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने अझै स्पष्ट भएको छैन । धितोपत्र बोर्ड बैंकलाई ब्रोकर लाइसेन्स दिन हतारिएर बसेको छ भने राष्ट्र बैंक यसमा थप गृहकार्य आवश्यक रहेको बताउन थालेको छ ।

‘बैंकलाई सेयर ब्रोकरको अनुमति दिनको लागि आवश्यक तयारी हुदैछ, हामी (राष्ट्र बैंक) र धितोपत्र बोर्ड यसको छलफलमै छौं, अझै केही समय लाग्छ होला,’ राष्ट्र बैंकका एक अधिकारीले बताए ।

उनले यसको लागि राष्ट्र बैंकले नियमावली नै बनाउनु पर्ने र त्यसको लागि समय लाग्ने बताए ।

बैंकले सेयर ब्रोकरको लाइसेन्स लिएर काम गर्ने हो भने बैंकसँग अहिले भएका संयन्त्र वा संस्थाले सो काम गर्न नपाउने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

‘बैंक वा अहिले बैंकसँग सहायक कम्पनीको रुपमा रहेका मर्चेन्ट बैंकरलाई सेयर ब्रोकरको काम दिन सकिदैन भनेर राष्ट्र बैंकले प्रष्टसँग भनिसकेको छ, बैंकहरुले अर्काे सहायक कम्पनी खोलेर सेयर ब्रोकरेजको काम गर्छु भन्दा मात्रै पाउने अबस्था रह्यो,’ धितोपत्र बोर्डका एक अधिकारीले भने ।

राष्ट्र बैंकले विनियमावली बनाउदै गरेकोले यसका थप प्रावधान अझै गोप्य नै राखिएको छ । तर, सेयर ब्रोकरको काम गर्न अर्काे बेग्लै सहायक कम्पनी स्थापना गर्नुपर्ने भने स्पष्ट भएको छ ।

सहायक कम्पनी स्थापना गर्नुपर्ने भएपछि त्यस्तो कम्पनीको चुक्ता पुँजी कति राख्ने भन्ने बिषयमा अहिले प्रारम्भिक छलफल चल्न थालेको छ । यस्तै सेयर खरिद विक्रीको लागि ठूलो परिमाणमा तरलता आवश्यक हुने भएकोले त्यस्तो तरलता बैंकहरुले कसरी ब्यवस्थापन गर्छन् भन्ने अर्काे प्रश्न पनि खडा भएको छ ।

तरलता कमी भएको भन्दै आफ्ना असल ऋणी र सरकारले उच्च प्राथमिकता दिएको क्षेत्रमा समेत आवश्यक कर्जा दिन नसकिरहेका बैंकहरु सेयर खरिद विक्रीको लागि ठूलो मात्रामा पैसाको ब्यवस्था गर्नुपर्ने र सहायक कम्पनी खोल्न पनि पुँजीको ब्यवस्था गर्नुपर्ने भएपछि ब्रोकर लाइसेन्स लिन त्यति इच्छुक नभएको बताउन थालिएको छ ।


क्लिकमान्डु