सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण शुरु हुँदै, प्राधिकरणसँग भयो विद्युत खरिद संझौता



फाइल फोटो

म्याग्दी । सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पिपीए) भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता भएको हो ।

हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार पैसा तथा बर्खामा प्रतियुनिट चार रुपैयाँ आठ पैसाका दरले विद्युत् खरीद सम्झौता भएको सो आयोजनाका संस्थापक मनप्रसाद कँडेलले जानकारी दिए ।

पिपीए सम्झौतापछि पूर्वाधार निर्माणको अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइएको छ । आयोजनाले आगामी मङ्सिरदेखि पूर्वाधार निर्माण थाल्नेछ । सो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा रहेको छ ।

बाँधभन्दा २०० मिटरमाथि विद्युत् गृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किलोमिटरको हुनेछ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जिनीयरको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनाले २०८० साल चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउँछन् । दश प्रतिशत साधारण शेयर, दश प्रतिशत प्रभावित शेयर तथा दश प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजनाको वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सब स्टेशनमा पु¥याएर कालीगण्डकी कोरिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ ।

नारच्याङमा हाल ५ मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १०० मेगावाटको नीलगिरि र नीलगिरि क्यास्केट आयोजना निर्माण भइरहेको छ । एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जको निर्माणस्थलसमेत नारच्याङ नै हो । रासस


क्लिकमान्डु