मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने, नयाँ संरचना के के बन्दैछन् ?



मुस्ताङ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ ।

बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो ।

यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार पारिएकोे सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

लामो समयको प्रतिक्षापछि तयार भएको सोे गुरुयोजना कार्यान्वयनका लागि सरकारी पदाधिकारी तथा सरोकारवालासँग छलफल गरिने उक्त समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्न र आसपासका क्षेत्रमा आश्रमस्थल, फूलको बगैँचा, भोजनालयलगायत नयाँ संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ ।

मुक्तिनाथ नजिकै रहेको रानीपौवा बजारमा पिसीसी ढलान, तल्लो प्रवेशद्वारदेखि माथिल्लो प्रवेशद्वारसम्म लिफ्ट, मूल मन्दिर यथावत राखी वरपर रहेका साना मन्दिर जीर्णोद्धार गर्न प्रस्ताव गरिएकाले प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदालाई असर नपुग्ने गरी संरचना बनाइने प्रजिअ पौडेलले बताए । रासस


क्लिकमान्डु