खुद नाफामा मुक्तिनाथ विकास बैंक अगाडि, पछ्याउदै महालक्ष्मी र कैलाश




काठमाडौं । गत आर्थिक बर्षमा ११ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमा खुद नाफाको आधारमा मुक्तिनाथ विकास बैंकले सबैलाई जितेको छ । मुक्तिनाथभन्दा केही पछाडि रहेका महालक्ष्मी विकास बैंक र कैलाश विकास बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

विकास बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अग्रस्थानमा रहेको मुक्तिनाथले गत आर्थिक बर्षमा ५७ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकले ५६ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको कैलाश विकास बैंकले ५५ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गरिमा विकास बैंकले ४३ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै गण्डकी विकास बैंकले ५० करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । लुम्बिनी विकास बैंकले ४० करोड १७ लाख रुपैयाँ र ओम डेभलपमेन्ट बैंकले ४० करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

राष्ट्रियस्तरको अर्काे विकास बैंक कामना सेवाले ३४ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ३२ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

ज्योति विकास बैंकले ३० करोड ५१ लाख रुपैयाँ तथा देबः विकास बैंकले २७ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

रिजर्भ एण्ड सरप्लसमा महालक्ष्मी अगाडि
बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण सुचककै रुपमा हेरिने रिजर्भ एण्ड सरप्लसमा भने महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ । महालक्ष्मीको रिजर्भ एण्ड सरप्लसमा १ अर्ब ४३ करोड रुपैयाँ छ ।

रिजर्भ एण्ड सरप्लस बढी हुनेहरुमा लुम्बिनी विकास बैंक दोस्रो स्थानमा छ । सो बैंकसँग १ अर्ब १४ करोड ८५ लाख रुपैयाँ रिजर्भ एण्ड सरप्लस छ ।

यस्तै कैलाश विकास बैंकसँग १ अर्ब ९ करोड २८ लाख, गण्डकी विकास बैंकसँग १ अर्ब १ करोड ४६ लाख र मुक्तिनाथ विकास बैंकसँग ९४ करोड ७९ लाख रुपैयाँ रिजर्भ एण्ड सरप्लस छ ।

विकास बैंकहरुले प्रकाशित गरेको तथ्यांक अनुसार ओम डेभलपमेन्ट बैंकसँग ८१ करोड ३० लाख, गरिमासँग ७२ करोड ७२ लाख, कामना सेवा विकास बैंकसँग ७२ करोड १५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकसँग ६३ करोड ५३ लाख, ज्योति विकास बैंकसँग ५१ करोड ५३ लाख र देबः विकास बैंकसँग ४८ करोड १२ लाख रुपैयाँ रिजर्भ एण्ड सरप्लस छ ।

भदौको पहिलो साता मात्रै ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्शियल बैंकले अक्वायर गर्ने सम्झौता भने भइसकेको छ ।


क्लिकमान्डु