प्रचण्ड भन्छन्ः कर्मचारीतन्त्रको सेटिङ तोड्नुपर्छ




चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए ।

‘मैले सरकार र मन्त्रालयको सचिवलाई ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटोछिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको छु,’ उनले भने ।

‘एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने प्रबृत्ति देखिएको छ,’ उनले भने ।

एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का लिएर ओघट्ने गरेकोले पनि समयमै विकास हुन निर्माणका काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

‘पाँच÷सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन, साना निर्माण व्यवसायी रोएर हिँडेका छन्, ठूला ठूलाले एकाधिकार जमाएका छन्,’ प्रचण्डले थपे ।

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले हर्जाना नलगाइकन एक वर्ष समय थप्न आफ्नो पूरै पहल हुने बताए ।

व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको जोड छ ।

‘निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ, यसलाई परिवर्तन गर्नु आवश्यक छ,’ उनले भने ।

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि नआउने बताए ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई सम्मान गरिएको थियो । रासस


क्लिकमान्डु