अनलाइन प्रणालीले सेयर बजारमा यस्तो प्रभाव पर्छ भन्छन् लगानीकर्ता




काठमाडौं । केही महिनायता लगातार घटेको सेयर बजारलाई अनलाइन कारोबार प्रणालीले राहत दिने अपेक्षा आम लगानीकर्ताको छ ।

अनलाइन कारोबारले किनबेचमा सहजिकरण गर्ने तथा कारोबार रकममा समेत बृद्धि गर्ने लगानीकर्ताको आशा छ । अनलाइन प्रणालीमा गएपछि कारोबार सहज हुने भएकोले बजार बढ्ने लगानीकर्ताको भनाइ छ ।

मंगलबार कालिका सेक्युुरिटीजमा भेटिएका लगानीकर्ता डुपेन्द्र भट्राई अनलाइन कारोबारले सबैलाई सहज हुने बताउँछन् ।

‘मैले १५ दिन अगाडिदेखि नै अनलाईन कारोबार सुरु गरिसकेको छु, अहिले यो परीक्षणकै चरणमा भएपनि विस्तारै सबैले यसको प्रक्रिया बुझ्छन्, अनि कारोबार गर्न सहज हुन्छ,’ भट्टराईले भने ।

अनलाइन प्रणालीले कारोबारलाई सहज बनाउने उनको बुझाइ छ ।

‘विदेशमा रहेको भाइ तथा गाउँमा रहेका किसान साथीलाई आफ्नो सेयरको जानकारी दिन असहज थियो, अनलाइन कारोबारमा इन्टरनेट भएको ठाउँबाट स्वदेश वा विदेशको जुनसुकै ठाउँमा भएकाले पनि कारोबार गर्न सक्ने भएकोले सबैलाई सहज हुन्छ,’ उनले थपे ।

आजका दिनसम्म नेप्सेबाट फ्लोर सिट हेर्दै आएका लगानीकर्ताले भोलिका दिनमा आफ्नो फ्लोरसिट हेर्न पाउने र त्यसैको आधारमा आफूले कारोबार गर्न सक्ने उनको अपेक्षा छ । उनले छिमेकी राष्ट्र भारतमा समेत अनलाईनले सकारात्कम प्रभाव पारेको स्मरण गरे ।

कालिकामै भेटिएका अर्का लगानीकर्ता बसन्त थापा अनलाइन कारोबार प्रणालीले लगानीकर्ताको मनोबल उच्च बनाउने बताउँछन् ।

‘अनलाईन प्रणाली आउँनु राम्रो कुरा हो, यसले लगानीकर्ताको मनोबल बढाउन मद्दत गर्छ,’ थापाले भने ।

अनलाईन प्रणालीले सेयर बजारलाई सकारात्मक बनाउने उनको विश्वास छ ।

क्रिष्टल कञ्चनजंगामा भेटिएका लगानीकर्ता दिनेश राउत अनलाइन प्रणालीले सहभागिता बढाउने बताउँछन् ।

अनलाइन प्रणालीले लगानीकर्ताको सहभागिता बढाउँछ, सहभागिता बढेपछि बजारमा सकारात्मक प्रभाव पर्छ नै,’ राउतले भने ।

उनले बजार बढ्नको लागि अनलाइन भन्दापनि नयाँ लगानीकर्ताको आवश्यकता रहने बताए ।

क्रिटल कंञ्चनजंगामै भेटीएका अर्का लगानीकर्ता रबिन्द्र दाहाल भने फरक धारणा राख्छन् ।

‘अनलाईन प्रणाली हतारको विषय होइन, आवश्यक गृहकार्य गर्नुपर्छ, लगानीकर्तालाई यसको बारेमा बुझाउनु पर्छ, अनि कार्यान्वयन गर्दा उत्तम हुन्छ,’ दाहालले भने ।

एशियन सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता दिनेश शर्मा अनलाइन कारोबार प्रणालीलाई सेयर कारोबारको एक महत्वपूर्ण विकासको कडी मान्छन् ।

‘अनलाइन प्रणालीमा जानु भनेका हामी एकस्तर माथि उठ्नु हो, जसरी परम्परागत रुपमा हलोले जोत्नुको साटो ट्याक्टरले जोत्दा कृषि उत्पादनमा फरक हुन्छ, सेयर बजारमा पनि अहिलेको प्रणालीबाट अनलाइनमा जादा त्यस्तै प्रभाव हुन्छ,’ शर्माले भने ।

उनले सहजपन नै मानिसको चाहनामा पर्ने भएकाले ढिलोचाडो सबैले अनलाइनको महत्व बुझ्ने बताए ।


क्लिकमान्डु