बिम्स्टेक सम्मेलनको तयारी तीब्र, उपत्यकाका ठाउँ–ठाउँमा स्वागतद्वार
काठमाण्डौ । ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ विम्स्टेकको चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा उपत्यकाका ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । माइतीघर मण्डला बेहुली झै सिंगारिएको छ ।
यही भदौ १४ र १५ गते हुने सम्मेलनको तयारी अन्तरगत माइतीघरमा पाहुनाका लागि आकर्षक स्वागतद्वार बनाइएको छ भने बत्तीहरुले झिलिमिली सिंगारिएको छ । करेसाबारीमा झै केराको बोट रोपिएको छ भने फूलका बोटहरु झिलिमिली बत्तीले सिंगारिएको छ ।
विमस्टेकको चौथो शिखर सम्मेलनमा आउने पाहुनाका लागि राजधानीका सडकहरु स्वागतद्वारले सजाइएको छ । काठमाडौंको माइतीघर, रत्नपार्क, जमल लगायतका प्रमुख स्थानमा सरकारले पाहुनाका लागि होर्डिङ बोर्डसहित स्वागतद्वार बनाएको हो । विमस्टेक सम्मेलनमा भारत, नेपाल, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्याण्ड र भुटान सदस्य राष्ट्रको सहभागिता रहनेछ ।
यता, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समय नजिकिदै गर्दा संवेदनशील क्षेत्र वरपर सुरक्षा अवस्था कडाई गर्न थालिएको छ ।
यसैबीच, बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ ।
मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुखको सुरक्षा नेपालले गर्ने भएपनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।