बिप्लव माओवादीका प्रवक्ता विश्वकर्माद्वारा सर्वोच्चमा पुनः रिट दर्ता



काठमाडौँ । नेत्रविक्रम चन्द बिप्लव निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ ।

यसअघि दुई पटक निवेदन दर्ता गराएका विश्वकर्मालाई छाड्ने आदेश दिइएको थियो । अदालतले भदौ १ र ७ गते दुई पटक निवेदनमाथि सुनवाइ गर्दै छाड्न आदेश दिए पनि सरकारले फेरि पक्राउ गरेको थियो ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार मात्र विश्वकर्मालाई अदालतको रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएपनि अदालतमा ल्याई छाडेको केही समयपछि उनलाई प्रहरीले समातेको थियो ।

विश्वकर्माको आइतबार सुनुवाइका लागि पेशी तोकिएको सहायक प्रवक्ता कालाखेतीले जानकारी दिए । रासस


क्लिकमान्डु