कञ्चनपुरमा प्रदर्शन जारी, प्रहरीको गोली लागेर बालकको मृत्यु



काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरमा चलिरहेको आज पनि जारी छ । आन्दोलनका क्रममा आज प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएको छ।

आन्दोलन चर्किएपछि हिजो साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म स्थानीय प्रशासनले महेन्द्रनगर क्षेत्रमा कर्फ्यू लगाएको थियो। घटनापछि कञ्चनपुरको अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले प्रशासन कार्यालयमाथि तोडफोड गर्न खोज्दा गोली चलाएको प्रहरीको भनाई छ ।

प्रहरीको गोली लागेर मृत्यु हुनेमा १५ वर्षीय चेतन भट्ट रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। आजपनि प्रहरीको गोली लागेर कविन्द्रबहादुर सिंह, सगुन सुवेदी, दामोदर खत्री र उमेश देउवा घाइते भएका छन्।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट सुरू भएको थियो।

आज प्रहरीले आन्दोलनकारीहरु माथि गोली चलाएको र घटनामा संलग्न मुख्य दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै आज कञ्चनपुरका शैक्षिक संस्थामा पठनपाठन बन्द गरिएको थियो ।

हिजोपनि आन्दोलनले उग्ररुप लिएको भन्दै नियन्त्रणका गोली चलाएको र ६ जना स्थानीय सर्वसाधारण घाइते भएका थिए । प्रदर्शनकारीको ढुंगाप्रहारका कारण २ प्रहरीसमेत घाइते भएका थिए ।


क्लिकमान्डु