यसकारण बागमती अञ्चल कार्यालयमा लाइसेन्स बनाउने घटे



ललितपुर । यातायात व्यवस्था बागमती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउनेको सङ्ख्या घटेको छ ।

एकान्तकुनास्थित उक्त कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्नेको सङ्ख्यासमेत घटेको छ । कार्यालयले काठमाडौँ उपत्यकाका चार ठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

अहिले दैनिक पाँच सयदेखि ६ सयसम्म सेवाग्राही आउने गरेको कार्यालयका सूचना अधिकृत भक्त विष्टले जानकारी दिए ।

अघिल्लो आवमा एक हजारदेखि एक हजार ५०० सम्म सेवाग्राही आउने गरेका थिए । सेवाग्राही बढेसँगै गत आवदेखि सरकारले सूर्यविनायक, चाबहिल र सानो भर्याङबाट सेवा शुरु गरेको थियो । अहिले सेवाग्राही सवै ठाउँमा बाँडिएका छन् ।

अहिले १४ वटै अञ्चल कार्यालयले स्मार्ट चालक अनुमतिपत्र र नियमित सेवा शुरु गरेका कारण सेवाग्राहीको चाप घटेको विष्टको भनाइ छ । उक्त कार्यालयले नयाँ चालक अनुमतिपत्र तथा नवीकरण गरी दुई लाखको हाराहारीमा चालक अनुमतिपत्र वितरण गरेको जनाएको छ । रासस


क्लिकमान्डु