लगानीकर्ता भन्छन्ः हकप्रदमा उचालिने दिन गयो



काठमाडौं । हकप्रद दिने भएपछि दोस्रो बजारमा सूचिकृत कम्पनीको सेयर मूल्य निकै बढ्यो ।

आफैले लगानीगनुपर्ने हकप्रदमा केही समय अगाडि लगानीकर्ताहरु आकर्षक बोनस आएजस्तै आकर्षित देखिएन । तर,पछिल्लो समय हकप्रदमा लगानीकर्ता उचालिन छाडेका छन् ।

घट्दो अवस्थामा रहेको सेयर बजार तथा दोस्रो बजारबाटै कारोबार गर्दा नाफा हुने भएकाले हकप्रद सेयरप्रति लगानीकर्ताको आकर्षणमा कमी आएको हो ।

क्रिष्टल कञ्चनजंगा सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ता सुरज ढकालले भने–‘हाल हकप्रद सेयरमा लगानी गरेर सेयर उठाउन सक्ने अवस्था छैन, बजार नै घट्दो अवस्थामा छ, त्यसैले हकप्रद तिर लाग्ने कुरा अहिलेको अवस्थामा बिल्कुल ठीक होइन ।’

ढकालले बजार घट्दा राम्रो कम्पनीको सेयर किन्नु नै उत्तम विकल्प भएको बताए । उनले बजारमा सेयरको आपूर्ति धेरै भएकाले बजार माथि उठ्न नसकेको तथा हकप्रदप्रति लगानीकर्ताको ध्यान नगएको बताए ।

हकप्रद भन्दा बजार नै सस्तो भएकाले हकप्रदमा पैसा हाल्नुको औचित्य नरहेको उनको तर्क छ । गएका बर्षहरुमा जस्तो नभएर अहिलेको समय अलि फरक रहेको मत समेत उनले व्यक्त गरे । पछि बजार के हुन्छ थाहा छैन, तर तत्कालको अवस्थामा हकप्रदमा फाइदा छैन–उनले भने ।

क्रिष्टल कञ्चनजंगामा भेटिएका अर्का लगानीकर्ता रविन्द्र दाहाल भन्छन् —‘मार्केट बढे पो हकप्रदमा जाने कुरा हुन्छ, यस्तो अवस्थामा त पैसा जोगाउनुपर्छ, नत्र पैसा खेर जान्छ ।’

उनले सेयर बजारमा कुनैपनि लगानीकर्ता नोक्सान होस भनेर नआउने तर्क गरे । कम्पनीको हकप्रद तथा बोनस हेरेर लगानी गर्नुपर्छ, तर यस्तो बेलामा कुनैपनि कम्पनीको हकप्रदमा लगानी गर्दा घाटा व्यहोर्नु पर्ने उनको भनाई छ ।

एशियन सेक्यूरिटिजका लगानीकर्ता राजेश दत्त भन्छन्—‘अहिलेको समयमा हकप्रद भर्दा धेरै मूल्य देखिएपनि त्यो पछिसम्म कायम हँुदैन, बजारलेपनि त्यसमा प्रभाव पार्ने भएकाले हकप्रद फाइदाजनक छैन ।’

दत्तले अहिले बजारमा सेयर बेच्न तछाड मछाड भइरहेको अवस्था रहेको बताए । बेच्ने लागनीकर्ता भएपनि किन्ने लगानीकर्ताको भने अभाव रहेको उनले बताए ।

केही समय अघि धेरै जनाले धेरै कित्ता किनेपनि अहिलेको परिवेशमा त्यस्तो नहुने बताए ।

अहिले थोरै कित्ता किनबेच हुने तथा पहिलेको जस्तो धेरै जनाले किन्न माग नगर्ने गरेको उनको भनाई छ । किन्ने लगानीकर्ताको अभावमापनि बजार धानिनु ठूलो कुरा रहेको उनले तर्क गरे ।

साथै यस्तो बेलामा हकप्रद किन्दा पैसा जतन नहुने बताए ।

श्वेता सेक्यूरिटिजमा भेटिएका अर्का लगानीकर्ता सुरेन्द्र पन्त भन्छन्—‘बजारले एक किसिमको भ्यालू नलिएसम्म कारोबारमा फाइदा पाउन गाह्रो छ ।’ कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेरेर आफ्नो पोर्टफोलियो बनाउन आवश्यक भएको उनले बताए ।

एफपिओ मात्र नभई कुनै किसिमका आर्थिक गतिबिधिमा आवद्ध हुने लगानीकर्ताले राम्रो खोजी गर्न सक्नुपर्ने बताए ।

परिसूचकलाई मात्र आधार बनाएर भन्दापनि यस्ता आइपिओ, एफपिओको बारेमा लगानीकर्ताले आफै ज्ञान लिएर निर्णय लिएमा मात्र बजारमा थप सुधारका अपेक्षा गर्न सकिने उनले बताए ।

यसरी कम्पनीको सूचीकरण, साधारण सभा तथा बोनस वितरण जस्ता विषयलाई बोर्डले कडाईका साथ कार्यान्वयन नगरेको उनको आरोप छ । उनले बोर्ड चीर निन्द्रामा रहेको भन्दै बोर्डप्रति गहिरो आक्रोश व्यक्त गरे ।

साथै, कम्पनीको साधारण सभा तथा बोनस वितरण लगायतका विषयमा थप सुधार भएपछि मात्र हकप्रद लगायतका विषयमा छलफल गर्न सुहाउने पन्तको बुझाई रहेको छ ।


क्लिकमान्डु