७ स्थानमा काठमाण्डौ महानगरको वडा कार्यालय बन्दै, सुबिधा सम्पन्न कार्यालयबाट गुणस्तरीय सेवा !



काठमाडौँ । चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ ।

यसअघि भाडामा दिई काम हुँदै आएका वडा नं ३, ४, ९, १२, १४ र २९ मा नयाँ भवन निर्माण गर्न लागिएको कामपा, भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिए ।

नयाँ बन्न लागेका वडा कार्यालय सुबिधा सम्पन्न हुने काठमाण्डौ महानगरले जनाएको छ । सुबिधा सम्पन्न कार्यालयबाट गुणस्तरीय सेवा प्रदान गरिने बताइएको छ ।

तीमध्ये वडा नंं ३ र ४ का लागि बोलपत्र आह्वान भइसकेको छ भने सोमध्ये वडा नं ३ को भने सम्झौतासमेत भएको छ । चालू आवभित्रै सम्पन्न गर्ने गरी कामपाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा तीन वडाको तला थप गर्ने काम अघि बढाएको छ ।

त्यसैगरी वडा नम्बर नं ६, ७ र १५ मा तला थप गर्ने निर्णयअनुरुप काम भइरहेको छ । आफ्नो भवन नहुँदा काम गर्न समस्या भएपछि वडाको खाली जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

कूल ३२ वडा रहेको कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको छ ।

कामपाले चालू आव २०७५\७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । सोअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ ।

सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशेपुल कामपाले बनाउने छ ।


क्लिकमान्डु