त्रिभुवन विमानस्थलमा नयाँ कालोपत्र गरिने, १ वर्षमा काम सम्पन्न हुने



काठमाडौँ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो ।

मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुुरु गरिसकेको छ ।

देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको धावनमार्ग एक वर्षभित्र पूर्णरुपमा मर्मत (कालोपत्र) गर्ने कार्य एक नम्बर प्राथमिकतामा राखिएको बताए ।

सो विमानस्थल सँगैसँगै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याउने योजना पनि प्राथमिकतामा रहेको उनको भनाइ छ ।

मन्त्री अधिकारीले धावनमार्ग मर्मत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्राथमिकतामा रहेकाले एक वर्षपछि दुवै विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने बताए । नेपाल पर्यटन वर्ष शुुरु हुँदा ती विमानस्थलका कारण पर्यटकको संङ्ख्या वृद्धि हुने छन् । मन्त्री अधिकारीले सन् २०२० मा २० देखि २५ लाख पर्यटक पुग्ने दाबी गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले आगामी फागुन देखि चार महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल सञ्चालन बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिने बताए ।

प्राधिकरणको योजनाअनुसार चार महिनामा धावनमार्गको काम सकेपछि बाँकी अरु चार महिनामा ट्याक्सी वे लगायतका काम सकिनेछ । वित्तिय उक्त परियोजनाका लागि आर्थिक प्रस्तावको प्रारम्भिक छनोटमा चार कम्पनी छनोट भएका छन् ।

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ जसका लागि विमानस्थलले छुट्टै वार्षिक बजेटको व्यवस्था गरेको छ ।

महानिर्देशक गौतमका अनुसार यो आर्थिक वर्षका लागि १० करोडको ठेक्का आह्वान गरेकोमा कुनै पनि कम्पनीले इच्छा देखाएका छैनन् ।

“धावनमार्ग संवेदनशील भएकाले तीन पटकसम्म बोलपत्र आह्वान गर्दा पनि कसैले चासो देखाएनन् किनकी निश्चित समयभित्र चापमा गुणस्तरीय काम गर्नुपर्ने बाध्यता रहेकाले नआएको अवस्था हो ।

चौथो पटक बोलपत्र आह्वान गरेका छौँ, यो पटक इच्छा जायर गर्ने अपेक्षा छ”, महानिर्देशक गौतमले भने ।

महानिर्देशक गौतमका अनुसार धावनमार्ग खास गरी जिरो टु देखि १६ सय मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यो भूकम्पपछि बढी समस्या आएको छ । ‘रनवे रिह्याभ’ भनेको चार महिने हैन यो परियोजना समयावधि १८ महिनाको हो ।

यसरी गरिन्छ मर्मत

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।

क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरण व्यवस्था गर्नेछ । जसअनुरुप तीन जोत्ने मेशिन, तीन पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । महानिर्देशक गौतमका अनुसार धावनमार्गबाहेक पूरै ट्याक्सी वे मर्मत गर्नुपर्नेछ । खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ ।

परियोजना सम्झौता भइसकेपछि सम्पूर्ण निर्माण सामग्रीका परिचालनका लागि चार महिना दिएको र सो अवधिमा धावनमार्ग मर्मत सकिने छ । सो कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् ।

चुनौतीपूर्ण काम

धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरण पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौं । समस्या आउन सक्छन् किनकी पहिलो पटक यो काम गर्दैछौँ,” गौतमले भने । बारम्बार कालोपत्रे उप्किएर अवरुद्ध हुँदै आएको विमानस्थलमा अब स्थायी समाधान खोजिने भएको हो ।

विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत शुरु गरिने विमानस्थलले जनाएको छ । दिनहुँ ८० मिटर कालोपत्रे उक्काएर मर्मत गरिने छ । अहिले ३० सेन्टिमिटर गहिराइसम्मको कालोपत्रे हटाएर नयाँ कालोपत्रे हाल्ने प्राधिरणको योजना छ ।

कालोपत्रेको काम हुँदा कुनै समस्या आउन नदिनसमेत सतर्कता अपनाइएको छ । त्यसको लागि आवश्यक सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको विमानस्थलले जनाएको छ ।

खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भए यता कालोपत्रे फेरिएको छैन । विमानस्थलको कालोपत्रे सामान्य मर्मत गर्दै काम चलाइँदै आएको छ ।

विमानस्थलमा अहिले दैनिक १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । गत जेठ ७ गतेदेखि विमानस्थल दैनिक २१ घण्टा चल्दै आएको छ । वर्षाको समयमा विशेष गरी जहाज अवतरण हुने मुख्य बिन्दु कोटेश्वरतर्फको धावनमार्गमा बढी समस्या देखिने गरेको छ ।

वर्षाको समयमा जमीनबाट बढी पानी निस्कदासमेत धावनमार्गमा समस्या परेको हुनसक्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । धावनमार्गको कालोपत्र उप्कदा जहाज आकाशमानै ‘होल्ड’ गराएर मर्मत गर्नुपरेको छ । पछिल्लो समय अति विशिष्ठ व्यक्तिसमेत आकाशमा होल्डमा बस्नुपरेको छ । त्यसबाट इन्धनको बढी नोक्सानी र यात्रुमा तनाव बढ्ने गरेको छ ।

विमानस्थलको अन्य सेवा तथा सुविधा विस्तारमा समेत विशेष प्राथमिकता दिइएको प्राधिकरणको भनाइ छ । विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन र सबै खाले सेवा तथा सुविधा उपलब्ध गराउन हरदम प्रयास गरिने महानिर्देशक गौतमको भनाइ छ । प्राधिकरणको प्रतिवेदनअनुसार देशभरका ५६ विमानस्थलमध्ये ३३ सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये २९ वटा कालोपत्रे छन् । रासस


क्लिकमान्डु