दाताले दिन्छु भनेको पैसा नदिदा भएन लुम्बिनीमा काम, नर्सरी बनाएरै बस्यो कोष




काठमाडौं । नेपाल बुद्ध जन्मको देश भनेको भरमा मात्रै लुम्बिनीको विकास हुन नसक्ने देखिएको छ ।

गौतम बुद्धको जन्मस्थलका लागि विदेशी लगानीको ठूलो प्रतिवद्धता आएपनि हालसम्म उनीहरुले नै गरेको प्रतिवद्धता अनुसार सहयोग रकम प्राप्त हुन नसकेको पाइएको छ ।

लुम्बिनी विकास कोषले केही दिन पहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरेको प्रस्तुति अनुसार सुरुका अवस्थामा भएका अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसारको काम नभएको र स्रोत समेत उपलब्ध नभएको पाइएको छ । अन्तर्राष्ट्रियस्तरमा सम्पर्क विस्तारका लागि आवश्यक पहल नभएका कारण लुम्बिनी क्षेत्रमा अपेक्षित काम हुन नसकेको हो ।

विशेष गरी बौद्ध समुदायको बाक्लो जनघनत्व रहेका देहरु चीन, मंगोलिया, थाइल्याण्ड, लाओस, बर्मालगायतका देशले लुम्बिनीमा ठूलो मात्रामा लगानी गर्ने प्रतिवद्धता जनाएका थिए । तर, प्रतिवद्धता जनाएको विषयमा सम्पर्क गरेर काम गर्ने वातावरण बनाउन सरकार र कोष आफै चुकेको छ ।

लुम्बिनी विकासको गुरुयोजना अनुसार ३ वर्षभित्र सम्पन्न गर्ने औपचारिक लक्ष्य राखिएको भएपनि आवश्यक बजेटको अभाव रहेको छ । त्यसका लागि सरकारले उचित मात्रामा बजेट उपलब्ध गराउनुपर्ने देखिन्छ ।

यस्तै गुरुयोजना सम्पन्न गर्न स्थानीयस्तरको सहयोग समेत जुटन सकेको छैन ।

४० वर्ष पहिले तयार भएको गुरुयोजना अनुसार काम गर्न बजेट मात्रै नभई दक्ष जनशक्तिको समेत अभाव देखिएको छ ।

नर्सरीमा सिमित कोष
कोषकै विवरणलाई हेर्ने हो भने लुम्बिनी विकास कोषको काम नर्सरी राख्ने र त्यसबाट बिरुवा उत्पादन गरेर लगाउने काममा मात्रै सिमित भएको छ ।

गुरुयोजना अनुसार नहरको दाँया बाँया ल्याण्डस्केप तथा ग्रिनरी सम्बन्धी कार्य गर्न नर्सरी र बिरुवा उत्पादनको काम गरिएको जनाएको छ ।

नर्सरी वा ब्याड निर्माण र बायोइन्जिनियरिङको काम गरिएको कोषले जनाएको छ । वृहद लुम्बिनी परियोजनाको काम समेत अगाडि बढ्न सकेको छैन ।

गूरयोजना अनुसार नहरको मर्मत सम्भार गर्ने, सरसफाई गर्ने, पवित्र उद्यानमा ध्यान सेड तथा प्लेटफर्म निर्माणको काम समेत अगाडि बढ्न सकेको छैन ।

पछिल्लो समयमा भैरहवा क्षेत्रमा उद्योग तथा कल कारखानाको मात्रा बढ्दै गएका कारण लुम्बिनी प्रदुषित बन्दै गएको छ । त्यसलाई नियन्त्रण र नियमन गर्ने तर्फ कोषले कुनै पनि काम गर्न सकेको छैन ।

भैरहवामा गौतम बुद्ध विमानस्थल निर्माणको काम अगाडि बढीरहेको भएपनि भैरहवाबाट लुम्बिनी पुग्ने सडक मर्मतको काम समेत प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।


क्लिकमान्डु