अमेरिका र टर्कीको झगडाको मारमा नेपाली रुपैयाँ, डलरको तुलनामा अहिलेसम्मकै कमजोर



काठमाडौं । अमेरिका र टर्कीबीच भएको विवादले नेपाली रुपैयाँ खस्केको छ ।

सोमबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर ११२ रुपैयाँ ५५ पैसा तोकेको छ । नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा अवमुल्यन भएको यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

अमेरिकी धर्मगुरुलाई बन्दी बनाएको विवाद बढ्दै जाँदा टर्की र अमेरिकाबीच व्यापार युद्धको अवस्था आएको र यसबाट टर्कीको मुद्रामा निकै गिरावट आएको छ ।
जसको कारण भारतीय मुद्रा डलरको तुलनामा कमजोर भयो ।

भारत र टर्कीको ठूलो व्यापार नभएपनि अहिले अमेरिकी डलर भारतीय रुपैयाँसँगको तुलनामा मजबुत हुनुको पछाडिको कारण टर्कीसँगको तनाव हो ।

नेपालले भारतीय रुपैयाँसँग स्थिर विनिमयदर अपनाएको कारण भारतीय मुद्रामा आउने उतारचढावको असर नेपाली रुपैयाँमा पर्छ ।

भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

आयातमा आधारित अर्थतन्त्र रहेको हुँदा अमेरिकी डलरको मूल्य बढ्दा आयातित बस्त महंगो हुन्छ । जसले गर्दा उपभोक्ताले बढी मूल्य तिर्नुपर्छ । हाम्रो निर्यात व्यापार खासै नभएपनि डलर बलियो हुँदा विदेशी मुद्रा बढी आउने छ । यस्ते रेमिटेन्स तथा विदेशी लगानी भित्रदा बढी फाइदा हुन्छ ।

तत्कालै अङ्कारा र वासिङ्टनबीचको विवाद सुल्झने अवस्था भने देखिएको छैन । विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् ।

अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ ।

आफूलाई रणनीतिक सहयात्रीको रूपमा प्रस्तुत गर्ने तर सोही समूहको एक सहयोगी राष्ट्रलाई रणनीतिक रूपमा लक्षित गरी आक्रमण गर्ने अमेरिकी नीतिबाट टर्की पछि नहट्ने राष्ट्रपति एर्दोगानले बताए ।

तर अमेरिका र टर्कीको नेतृत्व आफ्नो निर्णयप्रति अडिग नै रहँदै आएको छ ।

टर्कीको सत्तारूढ दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने,’हामीलाई रणनैतिक साझेदारका रूपमा प्रस्तुत गर्ने र हामीलाई नै लक्षित गरी हुने कुनै पनि मुलुकका गतिविधिबाट टर्की तर्सिने छैन ।’

‘केही व्यक्तिले हामीलाई अर्थतन्त्र सङ्कट, प्रतिबन्ध, विदेशी मुद्रा, व्याजदर र मुद्रास्फीतिलाई देखाएर त्रास देखाएका छन्, चुनौति दिएका छन् तर यसबाट टर्की विचलित हुने छैन । हामी तिमीहरूको छलकपट बुझेका छौ ।’

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका आयात गर्ने आल्मुनियम र स्टीलमा करको दायरा दोब्बर बनाउने घोषणा गरेका थिए ।

जसबाट अङ्कराले पनि कैयौँ अमेरिकी उत्पादनमा करको दायरा बढाएको थियो । यसको प्रभाव टर्कीको मुद्रामा एकै दिनमा २० प्रतिशतसम्मको प्रत्यक्ष प्रभाव पर्न थालेको बताइएको छ ।


क्लिकमान्डु